प्रचण्डले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको आलोचना गरे

काठमाडौं । भदौ २०,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको आलोचना गरेका छन् । आलोचना दबाउन सरकारले यस्तो निर्णय लिएको प्रचण्डको आरोप छ ।

सरकारले बन्द गराएको भनिएको फेसबुकमा पूर्वप्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ ।’
सामाजिक सञ्जाल बन्द गराउने निर्णय अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लंघन भएको प्रचण्डको भनाइ छ ।
उनले सरकारको यो कदम संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई, सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत भएको जिकिर गरेका छन् ।
‘यस निर्णयले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई समेत जटिल र असहज बनाएको छ,’ प्रचण्डले भनेका छन् ।
उनले संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम भएको बताएका छन् ।