भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई

सहयात्रा टिभी

काठमाडौं । भदौ २८ , भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रधानमन्त्री कार्कीलाई शुभकामना व्यक्त गरेका हुन् । उनले आफ्नो आधिकारिक ह्यान्डलबाट नेपाली र हिन्दी भाषामा शुभकामना सन्देश पोस्ट गरेका थिए ।

सन्देशमा प्रधानमन्त्री मोदीले नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिका लागि भारत सदैव प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

आफ्नो एक्स पोस्टमा उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।’

यसअघि भारतको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गरेको थियो । मन्त्रालयले पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको सरकारले नेपालमा शान्ति र स्थायित्वलाई सुदृढ पार्ने विश्वास व्यक्त गरेको थियो ।

प्रकाशित : 13 September, 2025

प्रतिक्रिया दिनुहोस्