देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ: विश्वप्रकाश शर्मा

काठमाडौं । भदौ २८, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सक्रिय राजनीतिबाट सम्मानजनक बिदा लिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश जारी गर्दै महामन्त्री शर्माले लामो समयदेखि देशको राजनीति र सरकार निर्माण प्रक्रिया यी तीन शीर्ष नेताकै वरिपरि घुमिरहेकाले जनतामा गहिरो असन्तुष्टि र निराशा बढेको उल्लेख गरेका छन् । “चुनाव हुन्छ, नयाँ सरकार बन्छ तर प्रधानमन्त्री उहाँहरू नै,” शर्माले भने, “उहाँले अहिले छोड्नुहुन्छ भनेर पर्खिनुपर्ने, छाडिदिनुस् भनेर अनुरोध गर्नुपर्ने अवस्था आयो ।”
शर्माले नेतृत्व हस्तान्तरणलाई प्रणालीगत बनाउनुपर्नेमा जोड दिएका छन् । “अब यसलाई सिस्टममा ल्याऔँ, विधिमा ल्याऔँ, ताकि भोलि गगन-विश्वको पुस्ताले नेतृत्व गर्दा पछि कसैले छाडिदिनुस् भन्न नपरोस्,” उनले भने ।
यसका लागि उनले प्रमुख पदहरूमा कार्यकालको सीमा तोक्नुपर्ने ठोस प्रस्ताव अघि सारेका छन् । उनको प्रस्तावअनुसार, कुनै पनि व्यक्ति राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गरिनुपर्छ ।
महामन्त्री शर्माले अब पार्टीभित्र आत्मसमीक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनको यो भनाइले नेपाली राजनीतिको शीर्ष तहमा पुस्तान्तरणको बहसलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ ।