सरसफाइ गरेर सिंहदबारभित्रका अधिकांश मन्त्रालयमा सेवा सुचारु हुन थाले

सहयात्रा टिभी

काठमाडौं । भदौ २९, आगजनी र तोडफोडले अवरुद्ध भएको सिंहदबारभित्रका अधिकांश मन्त्रालयमा सेवा सुचारु हुन थालेको छ ।

जेनजी पुस्ताको आन्दोलनको नाममा सिंहदरबारभित्र रहेको प्रधानमन्त्री कार्यालयसहित अधिकांश मन्त्रालयर विभागीय कार्यालयका भवनमा भदौ २४ गते आगजनी र तोडफोड भएको थियो ।

विभिन्न भवनमा भएको तोडफोडपछिका फोहोर सफाइ गरेर सेवा सुचारु गर्न थालिएको हो । मन्त्रालयका कर्मचारी र सफाइकर्मी सरसफाइमा जुटेका छन् ।

सेवा सुचारु हुन थालेसँगै विभिन्न मन्त्रालय र विभागीय कार्यालयमा आइतबार सेवाग्राहीको उपस्थिति देखिन्छ । सिंहदरबारबाहिर रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालयमा समेत आगजनी भएको थियो ।

सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा सडकमा प्रदर्शन चलिरहँदा केही समूहले सिंहदरबारभित्र प्रवेश गरेर आगजनी र तोडफोड गरेका थिए ।

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदबारभित्र भएको आगजनी र तोडफोडले भौतिक पूर्वाधारसँगै महत्त्वपूर्ण कागजात जलेर नष्ट हुँदा अपूरणीय क्षति भएको छ ।

नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै सरकारी संरचनामा आगजनी र तोडफोड गर्नेविरुद्ध छानबिन गरी कारबाही गर्ने बताएकी छन् ।

सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय शीतल निवास, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी आवाससहित विभिन्न सरकारी कार्यालय रहेका भवनमा आगजनी र तोडफोड भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 14 September, 2025

प्रतिक्रिया दिनुहोस्