एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

सहयात्रा टिभी

काठमाडौं । असोज १०, एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा बंगलादेशलाई ११ रनले हराउँदै पाकिस्तान फाइनल पुगेको हो । भारत भने सुपर फोरको एक खेल अगाडि नै फाइनल पुगिसकेको छ । भारतले आज श्रीलंकासँग सुपर फोरको अन्तिम खेल खेल्दैछ ।

गएराति दुबई क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले दिएको १३६ रनको लक्ष्य भेट्न नसक्दा बंगलादेश फाइनल खेल्न चुकेको हो । बंगलादेशले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १२४ रन बनायो ।

बंगलादेशका लागि शामिंम हुशेनले ३०, शरिफ हशनले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । यसअघि पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद नवाजले २५ रन जोडे ।

यो वर्षको एसिया कपको समूह चरण र सुपर फोरमा भारतसँग पराजित भएको पाकिस्तानका लागि फाइनलमा बदला लिने अवसर प्राप्त हुनेछ । भारतले भने पछिल्ला खेलमा लगातार जित निकाल्दै आएकाले पाकिस्तानसँगको प्रतिस्पर्धालाई सामान्य रुपमा लिँदै आएको छ । एसिया कपको फाइनल यूएईमा आइतबार हुँदैछ ।

प्रकाशित : 26 September, 2025

प्रतिक्रिया दिनुहोस्