तमिलनाडुमा अभिनेता विजय थलापथीको राजनीतिक र्‍यालीमा भागदौड, ३९ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असोज १२ , भारतको तमिलनाडुस्थित करुरमा अभिनेताबाट राजनीतिज्ञ बनेका विजय थलापथीको राजनीतिक र्‍यालीमा शनिबार साँझ भागदौड मच्चिँदा कम्तीमा ३९ जनाको मृत्यु भएको छ। घटनामा ९५ जना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार दुर्घटनामा हालसम्म ३९ जनाको मृत्यु पुष्टि भएको छ भने ९५ जना घाइते अस्पतालमा भर्ना भएका छन्। मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का गरिएको छ।

यो घटना शनिबार साँझ त्यसबेला भएको थियो, जब विजयले आफ्नो पार्टी ‘तमिलगा वेट्री कझगम’ को एक र्‍यालीलाई सम्बोधन गरिरहेका थिए।

घटनालगत्तै तमिलनाडुका मुख्यमन्त्री एम.के. स्टालिनले मृतकका परिवारलाई १०-१० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। साथै, उनले जिल्लामा आपतकालीन प्रोटोकल लागू गर्न निर्देशन दिएका छन्। घटनाको छानबिनका लागि अवकाशप्राप्त उच्च अदालतकी न्यायाधीश अरुणा जगदीशनको अध्यक्षतामा एक सदस्यीय छानबिन आयोग गठन गरिएको छ।

अभिनेता विजयले सामाजिक सञ्जाल ‘एक्स’मार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, “करुरमा ज्यान गुमाएका मेरा प्रिय दाजुभाइ तथा दिदीबहिनीका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। म असहनीय पीडामा छु। अस्पतालमा उपचार गराइरहेकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

समाचार एजेन्सी पीटीआईका अनुसार, विजयले सभालाई सम्बोधन गरिरहेका बेला भीड अनियन्त्रित बन्दै गएको थियो। सोही क्रममा केही मानिसहरू बेहोस भएर लडेपछि भागदौड मच्चिएको थियो। अत्यधिक भीडका कारण एम्बुलेन्सलाई घटनास्थलसम्म पुग्न पनि कठिनाइ भएको बताइएको छ।

राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, तमिलनाडुका राज्यपाल आर.एन. रवि र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रकाशित : 28 September, 2025

प्रतिक्रिया दिनुहोस्