विश्वकपमा स्थान बनाउन नेपाललाई एक जितको खाँचो, आज ओमानसँग निर्णायक भिडन्त

सहयात्रा टिभी

काठमाडौं । असोज २९, आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दुवै टोलीका लागि विश्वकप छनोटको ढोका खोल्ने निर्णायक खेल हो।

खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा नेपाली समय अनुसार बेलुका ८:४५ बजे सुरु हुनेछ।

सुपर सिक्समा हालसम्म अपराजित रहेका नेपाल र ओमान विश्वकप यात्राको अन्तिम चरणमा छन्। आजको खेल जित्ने टोलीले सोझै आईसीसी टी-२० विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछ। यस अर्थमा, नेपाली क्रिकेट टोली एक ऐतिहासिक जित हासिल गर्दै विश्वकपमा छनोट हुने सुनौलो अवसरको संघारमा छ।

सुपर सिक्समा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका छन्। नेपालले आइतबार यूएईलाई र सोमबार कतारलाई पराजित गरेको थियो भने ओमानले पनि सोही दुई टोलीलाई क्रमशः आइतबार र सोमबार हराउँदै आफूलाई बलियो दाबेदारको रूपमा प्रस्तुत गरेको छ।

यद्यपि, हेड-टु-हेड तथ्याङ्क र हालैको नतिजाले नेपाललाई मनोवैज्ञानिक लाभ दिन सक्छ। छनोट सुरु हुनुअघिको अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच भएका ८ खेलमा नेपालले ५ खेल जितेको छ भने ओमानले १ सुपर ओभरसहित ३ खेलमा जित निकालेको छ।

सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले शुक्रबार सामोआसँग खेल्ने तालिका छ। तर, आजको खेल नै विश्वकप छनोटका लागि सबैभन्दा महत्त्वपूर्ण भएकाले सम्पूर्ण ध्यान ओमानविरुद्धको खेलमा केन्द्रित हुनेछ।

प्रकाशित : 15 October, 2025

प्रतिक्रिया दिनुहोस्