राजनीतिक घुम्तीमा ओली: आफैंले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापनाको एजेन्डा बोकेर केन्द्रीय कमिटी बैठकमा !

काठमाडौं । असोज २९, नेकपा (एमाले) को १० औं केन्द्रीय कमिटीको बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने यो बैठकको मुख्य केन्द्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने समसामयिक राजनीतिक प्रतिवेदन रहने भएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको प्रारम्भमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। तर, ओली निकट स्रोतहरूबाट प्राप्त जानकारीले प्रतिवेदनका विषयवस्तुबारे राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ। स्रोतका अनुसार, ओलीले आफ्नो प्रतिवेदनमा ‘जेनजी युवा आन्दोलन’ र त्यसको बलमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते गराउने निर्वाचन जस्ता विषयलाई विश्लेषण गरेका छन्।
यस्तै, अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमा आफैंले गरेको प्रतिनिधि सभा विघटनको कदमलाई ‘असंवैधानिक’ ठहर गर्दै त्यसको पुनर्स्थापनामा जोड दिएका छन्। लोकतन्त्रको पुनर्बहालीका लागि प्रतिनिधि सभा पुनर्स्थापना हुनैपर्ने तर्क उनको प्रतिवेदनमा रहेको स्रोतको दाबी छ।
यसका लागि लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूसँग सहकार्य गर्ने र जनतालाई सडकमा उतार्नुपर्ने विषयलाई समेत ओलीले प्राथमिकता दिएको बताइएको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने विश्वाससमेत ओलीले व्यक्त गरेको स्रोतले उल्लेख गरेको छ। अध्यक्ष ओलीको यो अप्रत्याशित राजनीतिक लाइनले एमालेको आगामी राजनीतिक दिशाबारे गम्भीर बहस सिर्जना गर्ने निश्चित छ।