विश्वकै शक्तिशाली पासपोर्टको सूचीबाट बाहिरियो अमेरिका, चीनको उदय र नेपालको यथास्थिति

सहयात्रा टिभी

काठमाडौं । असोज २९, विश्व शक्ति सन्तुलनमा आएको परिवर्तनको संकेत गर्दै अमेरिकी पासपोर्ट दुई दशकमा पहिलोपटक विश्वका १० सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीबाट बाहिरिएको छ। हेनले एण्ड पार्टनर्सद्वारा जारी हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, अमेरिकी पासपोर्ट १२औं स्थानमा झरेको छ, जुन मलेसियाको बराबरी हो। अब अमेरिकी नागरिकले २२७ मध्ये १८० देशमा मात्र भिसा बिना यात्रा गर्न पाउँछन्।

यो वर्षको सूचीमा सिंगापुरले शीर्ष स्थान कब्जा गरेको छ। सिंगापुरको पासपोर्टवाहकले विश्वका १९३ देशमा भिसा बिना प्रवेश पाउँछन्। त्यसैगरी, दोस्रो स्थानमा दक्षिण कोरिया (१९० देश) र तेस्रो स्थानमा जापान (१८९ देश) रहेका छन्।

नेपाल यथावत, भारतको सुधार

इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१औं स्थानमा यथावत रहेको छ। नेपाली नागरिकले ३६ देशमा मात्र अन-अराइभल भिसा सुविधा पाउँछन्। सन् २०२५ को पहिलो त्रैमासिकमा पनि नेपाल यही स्थानमा थियो भने गत वर्ष १०३औं स्थानमा थियो। नेपालभन्दा पछि सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान जस्ता देशहरू छन्।

छिमेकी मुलुक भारतले भने आफ्नो स्थितिमा उल्लेखनीय सुधार गरेको छ। भारत ८ स्थान माथि उक्लँदै ७७औं स्थानमा पुगेको छ र भारतीय नागरिकले ५९ देशमा भिसा-फ्रि वा अन-अराइभल भिसा सुविधा पाउँछन्।

किन कमजोर भयो अमेरिकी पासपोर्ट ?

अमेरिकी पासपोर्टको शक्तिमा आएको गिरावटको मुख्य कारण विभिन्न देशहरूले अमेरिकी नागरिकका लागि भिसा नियम कडा बनाउनु हो। हालै ब्राजिलले भिसा-फ्री प्रवेश अन्त्य गरेको छ भने चीनले पनि आफ्नो भिसा-फ्री कार्यक्रममा अमेरिकालाई समावेश गरेको छैन। यसबाहेक, पपुवा न्यु गिनी, म्यानमार, भारत, सोमालिया र भियतनामले लागू गरेका नयाँ नियमहरूले पनि अमेरिकी पासपोर्टको पहुँचलाई सीमित बनाएको छ।

हेनली एन्ड पार्टनर्सका अध्यक्ष क्रिस्चियन एच. कालिनका अनुसार, यो गिरावट केवल र्‍याङ्किङको उतारचढाव मात्र नभई विश्वव्यापी शक्ति सन्तुलनमा भइरहेको बदलावको प्रतीक हो। उनले भने, “खुलापन अपनाउने देशहरू अगाडि बढिरहेका छन् भने पुरानो र कठोर सोचमा अडिएका देशहरू पछि पर्दैछन्।”

बेलायत पनि कमजोर, चीनको उदय

अमेरिका मात्र होइन, बेलायती पासपोर्टको शक्ति पनि घटेको छ। सन् २०१५ मा पहिलो स्थानमा रहेको बेलायत अहिले छैटौं स्थानबाट झरेर आठौं स्थानमा पुगेको छ।

अर्कोतर्फ, चीनको पासपोर्टले भने ठूलो छलाङ मारेको छ। सन् २०१५ मा ९४औं स्थानमा रहेको चीन अहिले ६४औं स्थानमा उक्लिएको छ। चीनले पछिल्लो समय ३७ नयाँ देशहरूमा भिसा-फ्री पहुँच विस्तार गरेको छ। चीनले हाल ७६ देशका नागरिकलाई आफ्नो देशमा भिसा बिना प्रवेश दिन्छ, जुन अमेरिकाले दिने सुविधाभन्दा ३० देश बढी हो। यसले विश्वव्यापी यात्रा र कूटनीतिमा चीनको बढ्दो प्रभावलाई स्पष्ट पार्छ।

प्रकाशित : 15 October, 2025

प्रतिक्रिया दिनुहोस्