विपिन जोशीको शव आज नेपाल ल्याइँदै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३, हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ। १० महिना लामो अनिश्चितता र प्रतीक्षापछि उनको शवलाई राष्ट्रिय सम्मानका साथ स्वदेश फर्काउन लागिएको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, उनको शव फ्लाई दुबईको विमानबाट काठमाडौं ल्याउन लागिएको हो र विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। विमानस्थलमा प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।

बन्धकदेखि मृत्यु पुष्टि सम्मको यात्रा

अध्ययनका लागि इजरायल पुगेका जोशी गत वर्ष २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको अकल्पनीय आक्रमणका क्रममा बन्धक बनाइएका थिए। त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो।

केही समयअघि इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअनुसार बन्दी साटासाट गर्ने क्रममा हमासले उनको शव इजरायली सेनालाई बुझाएको थियो। नेपाल सरकारको अनुरोधमा इजरायली अधिकारीहरूले डीएनए परीक्षण गर्दा उक्त शव विपिनकै भएको पुष्टि भएको हो। फरेन्सिक जाँचबाट उनको मृत्यु अपहरणमा परेलगत्तै भएको हुन सक्ने देखिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

शव नेपाल पठाउनुअघि आइतबार इजरायलको तेल अवीवस्थित बेनगुरियन विमानस्थलमा एक श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो। नेपाली राष्ट्रिय झण्डा ओढाइएको उनको शव राखिएको कफिनमा श्रद्धाञ्जली अर्पण गरिएको थियो, जसले एउटा होनहार विद्यार्थीको दुःखद अन्त्य र राष्ट्रले भोगेको क्षतिलाई दर्शाउँछ।

प्रकाशित : 20 October, 2025

प्रतिक्रिया दिनुहोस्