राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीद्वारा सलामी अर्पण

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ४, इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। महाकालीको भुजेलाघाटमा उनको अन्त्येष्टि गरिँदा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो।

यसअघि उनको शव सोमबार इजरायलबाट काठमाडौं ल्याइएको थियो। त्यहाँबाट नेपाली सेनाको स्काइ ट्रकमा धनगढी र त्यसपछि उनको गृहनगर कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित घरमा पुर्‍याइएको थियो। नेपालस्थित इजरायली दूतावासका अधिकारीहरू शव हस्तान्तरण गर्न जोशीको घरसम्मै पुगेका थिए। राति अबेर शव आइपुगेकाले आज बिहान शवयात्रा गरी अन्त्येष्टि गरिएको हो।

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि इजरायल पुगेका विपिन गत वर्ष सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको भिषण आक्रमणमा परेका थिए। सोही आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका अन्य १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई हमासले बन्धक बनाएको थियो।

लामो समयसम्म अज्ञात रहेका विपिनको गत २८ असोजमा मृत्यु भइसकेको खबर इजरायली सेनाले नेपालस्थित दूतावासलाई दिएको थियो। इजरायलले पठाएको फरेन्सिक परीक्षण रिपोर्टअनुसार उनको टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि भएको छ।

लक्ष्मीपूजाको दिन विपिनको शव घरको आँगनमा आइपुग्दा उनको परिवार र पूरा गाउँ शोकमा डुबेको छ। “बहिनी पुष्पा यसपालि भाइटीकामा दाजुसित भेट हुने आशामा थिइन्,” परिवारका सदस्य किशोर जोशीले भने, “तर उनको शव आइपुग्यो।” दाजुको मृत्युको खबरले विक्षिप्त बनेकी बहिनी पुष्पाले भाइटीकाका लागि तयार पारेका सयपत्रीका फूलहरू उखेलेर फालेकी छन्, जसले परिवारको पीडालाई थप गहिरो बनाएको छ।

प्रकाशित : 21 October, 2025

प्रतिक्रिया दिनुहोस्