निर्वाचन प्राथमिकता हो, तर भ्रष्टाचार र सुशासनमा सम्झौता हुँदैन: प्रधानमन्त्री

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ५, प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् । नेपाल संवतको अवसरमा बुधबार काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि भयरहित वातावरण निर्माण गर्न सरकार दत्तचित्त भएर लागेको स्पष्ट पारिन् ।

उनले मुलुकको वर्तमान अवस्थालाई सामान्यीकरण गर्दै निर्वाचनको वातावरण बनाउन सरकारले राजनीतिक दलहरू र ‘जेनजी’ (युवा) समुदायसँग निरन्तर संवाद गरिरहेको बताइन्। “यो सरकार आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न दत्तचित्त भएर लागेको छ,” प्रधानमन्त्रीले भनिन्, “यसका लागि हामी प्रत्येक दिन राजनीतिक दलहरु र परिवर्तनका बाहक जेनजी समुदायसँग निरन्तर संवाद र सम्पर्कमा छौं।”

यद्यपि, निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुको अर्थ सरकार भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेको भनेर बुझ्न नहुनेमा उनले जोड दिइन्।

“निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको छ भन्ने होइन,” उनले भनिन्, “नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ। यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरूबाट काम अघि बढिरहेको छ।”

कार्यक्रमको अन्त्यमा उनले लोकतन्त्रलाई जीवन्त राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्न सबैलाई एकजुट हुन अपिलसमेत गरिन्।

प्रकाशित : 22 October, 2025

प्रतिक्रिया दिनुहोस्