१२ वटा राष्ट्रिय निकुञ्जसहित दुई आरक्षमा ९ हजार सेना परिचालन, बाघ र गैँडाको संख्यामा वृद्धि
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ८, नेपाली सेनाले प्रकृति संरक्षणमा पुर्याएको योगदानले पछिल्लो १५ वर्षमा बाघ र गैँडाको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। संरक्षणकै क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणबाट हालसम्म ११६ जना सैनिकले आफ्नो ज्यान गुमाएका छन्।

युद्धकार्य निर्देशक मनोज थापाका अनुसार, नेपाल सरकारद्वारा घोषित १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र चुरे क्षेत्रको संरक्षणका लागि सेनाका कुल ९ हजार ४६ जना जनशक्ति परिचालित छन्। यसका लागि सेनाका आठ वटा गण, दुईवटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्मलाई जिम्मेवारी दिइएको छ।
सेनाको सुदृढ सुरक्षा र संरक्षण कार्यकै कारण बाघ र गैंडाको संख्यामा उल्लेख्य वृद्धि भएको हो। पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ, जुन सन् २००९ मा १२१ मात्र थियो। त्यसैगरी, सन् २००५ मा ४०० रहेको गैँडाको संख्या बढेर ७५२ पुगेको छ।
यी महत्वपूर्ण उपलब्धि हासिल गर्ने क्रममा सेनाले ठूलो मूल्य चुकाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चालु आर्थिक वर्षमा मात्रै जंगली जनावरको आक्रमणमा परी पाँच जना सकलदर्जा घाइते भएका छन्।
संरक्षण कार्यलाई प्रभावकारी बनाउने क्रममा सेनाले चोरी शिकारी नियन्त्रणमा पनि सक्रियता देखाएको छ। चालु आर्थिक वर्षमा मात्रै सेनाले विभिन्न संरक्षित क्षेत्रबाट ४२ नाल हतियार, १,९७६ थान जाल/पासो, १,९६५ थान घरेलु औजार, ३३५ वटा सवारीसाधन र १६ वटा ओखोटोपहार बरामद गरेको छ।
वन्यजन्तु संरक्षणका साथै नेपाली सेनाले वातावरणीय स्वच्छतामा पनि योगदान पुर्याउँदै आएको छ। पछिल्लो एक दशकदेखि नेपालका हिमालहरूको सौन्दर्य कायम राख्न वार्षिक रूपमा हिमाल सफाइ अभियान समेत सञ्चालन गर्दै आएको छ।


