सरकार गठनमा निर्णायक भूमिका खेल्न प्रधानमन्त्रीमाथि बालेनको दबाब

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ११, सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं मेयर बालेन शाहले यसबीचमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटिसकेका छन् ।

उनी संघीय सरकारका प्रमुखलाई भेट्न यसअघि आनाकानी गर्दै आएका पालिका प्रमुख हुन् । सरकारका एक मन्त्रीका अनुसार केही दिनअघि उनले फेरि प्रधानमन्त्री कार्कीलाई भेटे ।

अघिल्लोपल्ट कुमार बेनसहित सौहार्द गफ गरी फर्केका उनले यसपल्ट एक्लै बालुवाटार गए । सरकारमाथि दबाब बढाउने गरी प्रस्तुत भएका उनले आफ्ना चार सरोकारहरु कार्कीसँग राखे ।

एक, जेनजी आन्दोलनमा दमनको निर्देशन दिने तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल गिरफ्तार गर्नुपर्ने । दुई, दुर्गा प्रसाईलाई पक्रेर उनका गतिविधि नियन्त्रण गर्नुपर्ने ।

तीन, सरकारका मन्त्रीहरुको समग्र कार्यक्षमता र गतिमा ढिलाई, जेनजी मन्त्री चयन । चार, गृहमन्त्री ओमप्रकाश अर्यालको बिदाई । गणपतिलाल श्रेष्ठको नामबारे चासो ।

कार्कीले प्रधानमन्त्री चुन्न निर्णायक भूमिका खेलेका बालेनले राखेका प्रस्तावहरु जेनजी युवाहरुकै प्रतिनिधि प्रस्तावजस्तो भए पनि प्रचलित कानुन र आन्दोलनको भावना दुवै तालमेल मिलाउँदै अघि बढ्ने आफ्नो प्रयास हुने बताएकी थिइन् ।

स्रोतका अनुसार त्यसअघि प्रधानमन्त्री कार्कीले डाकेको सर्वदलीय बैठकमा उनी तथा मन्त्रीहरुको प्रस्तुतिलाई लिएर समेत बालेनले चासो राखेका थिए ।

आन्दोलनकारी पक्षको समर्थनमा प्रधानमन्त्री तथा मन्त्री बनेका व्यक्तिले सरकारको कमजोरी उदांगो पार्नेगरी बोल्दा दलका प्रतिनिधिहरुले कम आँक्न थालेको उनको भनाइ थियो ।

बालेनको भनाइ थियो– ‘मुख्य कुरा अहिले फेरि आन्दोलन जुलुसको तयारी देखिन्छ । दुर्गा प्रसाईलगायत समुहहरुले आन्दोलनको कुरा गर्दैछन्, तर सरकारको तयारी चाहिँ फितलो देखियो ।’

यसैसँग जोडेर उनले ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई तत्काल गिरफ्तार गरिहाल्न समेत माग गरेका छन् । प्रसाईले अहिलेको सरकार बाह्य इशारामा बनेको तथा चलेको भन्दै आन्दोलन चर्काउने चेतावनी दिन थालेका छन् ।

प्रसाईले निरन्तर आफू लगायत केही व्यक्ति लक्षित भड्काउ अभिव्यक्ति दिएको भन्दै बालेनले तुरुन्तै निगरानी तथा नियन्त्रणमा लिनुपर्ने माग गरेका थिए ।

‘गृहमन्त्रीले प्रचलित कानुन देखाएर युवाहरुको अपमान गर्न खोज्नुभयो, यत्रो शहीद हुँदा कुन कानुन हेरिएको थियो ? दोषीलाई पक्रिनु पर्दैन ?’ बालेनको प्रश्न थियो ।

बालेनले सरकारले विद्रोहको म्यान्डेट कार्यान्वयन नगरे अप्रिय परिस्थिति आउन सक्ने बताएको समेत स्रोतले बताएको छ ।

प्रकाशित : 28 October, 2025

प्रतिक्रिया दिनुहोस्