विदेशमा रहेका नेपालीलाई मताधिकार दिने कानुनी व्यवस्था गरिँदै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ११, सरकारले प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी गरेको छ ।

 

यसका लागि विदेशमा रहेका नेपालीलाई मताधिकार दिने कानुनी व्यवस्था गरिँदैछ । जस अन्तर्गत गृह मन्त्रालयले प्रचलित ऐन संशोधनको मस्यौदा तयार पारेर सुझावका लागि निर्वाचन आयोग पठाएको छ ।

गृहमन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार अधिकार सुनिश्चित गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गर्न लागेको हो । यस सम्बन्धी मस्यौदा तयार पारेर गृह मन्त्रालयले निर्वाचन आयोगमा पठाएको हो ।

गृह मन्त्रालयको कानुन महाशाखाका प्रमुख एवं सहसचिव भरतमणि रिजालले विदेशमा बस्ने नेपाली मतदातामहहरूलाई विदेशबाटै मत हाल्न दिनेबारे छलफल चलिरहेको जानकारी दिए ।

यसअघि निर्वाचन आयोगले नै प्रचलित ऐन संशोधन गरेर विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने गरी विधेयकको मस्यौदा गृह मन्त्रालयमा पठाएको थियो । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी ऐनको एकीकृत मस्यौदामा प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्दै १८ असोज २०८० मा गृह मन्त्रालयमा पठाएको थियो ।

उक्त मस्यौदा अगाडि बढ्न नसकिरहेका बेला गृह मन्त्रालयले नै प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने गरी मस्यौदा बनाएर निर्वाचन आयोगमा पठाएको हो ।

 

प्रकाशित : 28 October, 2025

प्रतिक्रिया दिनुहोस्