एमाले सचिवालय बैठक बस्दै, महाधिवेशनको मापदण्ड तय गरिने
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १५, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मुख्य दुईवटा एजेन्डामाथि छलफल केन्द्रित हुनेछ । आसन्न महाधिवेशनको तयारी र संसद पुन:स्थापनाको मागसहितको जनपरिचालन।

पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले पोखरामा हुने महाधिवेशनको समग्र तयारीको खाकालाई अन्तिम रूप दिनेछ। महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मापदण्ड, व्यवस्थापन र निर्वाचन तालिकाजस्ता महत्त्वपूर्ण विषयमा आजको बैठकले निर्णय गर्नेछ। “महाधिवेशनका लागि प्रतिनिधिको अनुपात, छनोट मिति र शुल्कजस्ता सबै प्राविधिक विषय आज टुंग्याइनेछ,” गौतमले भने।
यस पटकको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ, जुन सौराहामा सम्पन्न १०औं महाधिवेशनको १९ सयभन्दा बढी हो। एमालेमा हाल ६ लाख ६३ हजार संगठित सदस्य रहेको र सदस्य संख्या बढेकाले यसपटक प्रति १२ सय सदस्य बराबर ३ जना प्रतिनिधि छनोट गर्ने प्रस्ताव गरिएको छ। १०औं महाधिवेशनमा प्रति एक हजार सदस्य बराबर ३ जनाको अनुपात थियो। यद्यपि, प्रतिनिधिको अनुपातबारे अन्तिम निर्णय सचिवालय बैठकले नै गर्नेछ। प्रतिनिधिहरू भूगोल (संघीय निर्वाचन क्षेत्र), २३ वटा जनसंगठन, ३३ विभाग, केन्द्रीय कार्यालय र प्रवासबाट चयन हुनेछन्।
महाधिवेशनको तयारीका अतिरिक्त बैठकमा संसद पुन:स्थापनाको मागलाई मुख्य एजेन्डा बनाएर जनपरिचालन गर्ने विषयमा पनि छलफल हुनेछ। वर्तमान सरकारले शान्तिपूर्ण र निष्पक्ष चुनावको ग्यारेन्टी गर्न नसक्ने भन्दै एमालेले प्रतिनिधिसभा पुन:स्थापनालाई आफ्नो प्रमुख राजनीतिक मागको रूपमा अघि सारेको छ।


