धनुषामा बसले अटोलाई ठक्कर दिँदा चार जनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १६, धनुषाको गणेशमान चारनाथ नगरपालिकामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरेन्द्र बजारमा विराटनगरबाट धनगढीका लागि छुटेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो रिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो। तीव्र गतिमा रहेको बसको ठक्करबाट अटो रिक्सामा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।
प्रहरी निरीक्षक लक्ष्मण तोसीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका–१, भरतपुर निवासी अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटो चालक अन्दाजी ४० वर्षीय डम्बर राई रहेका छन्। मृतक धनबहादुर, शम्भु र निशा एकै परिवारका सदस्य हुन्।
दुर्घटनामा मृतककै परिवारका १४ वर्षीया शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। उनीहरुको अवस्था चिन्ताजनक रहेको र हाल जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ढल्केबरले बस र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।


