आजदेखि मौसममा क्रमिक सुधार, मोन्था चक्रवातको प्रभाव कमजोर बन्दै

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १६, बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव कमजोर भएसँगै देशभरको मौसममा क्रमिक सुधार देखिन थालेको छ। मौसमविद्का अनुसार चक्रवातको असर हट्दै गएकाले आजदेखि मौसम थप सफा हुनेछ।

यद्यपि, पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असरका कारण केही स्थानमा बदली र वर्षाको सम्भावना भने कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहनेछ भने मधेश प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक बदली हुनेछ। बाँकी तराईका भूभागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ। यी तीन प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित : 2 November, 2025

प्रतिक्रिया दिनुहोस्