नागढुंगा सुरुङमार्ग सञ्चालन र मर्मतका लागि सेवा प्रदायक छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १६, निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतको जिम्मा दिन अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर) आह्वान गरिएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार एक सूचना जारी गर्दै अनुभवी र सक्षम अन्तर्राष्ट्रिय सेवा प्रदायक कम्पनी छनोटका लागि बोलपत्र आह्वान गरेको हो ।

सुरुङ मार्ग सवारी साधन चलाउनका लागि तयार भए तापनि यसमा जडित अत्याधुनिक प्रणाली सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति र अनुभव नेपालमा उपलब्ध नहुँदा सञ्चालनमा ढिलाइ भइरहेको छ । सडक विभागको हालको कार्यबोझ र सीमित अनुभवले सुरुङको सञ्चालन र मर्मतसम्भार कठिन हुने देखिएपछि अन्तर्राष्ट्रिय विज्ञताको सहारा लिन लागिएको हो । इच्छुक कम्पनीहरूले आगामी पुस २ गते (डिसेम्बर १७) सम्ममा आफ्नो बोलपत्र बुझाउन सक्नेछन् ।
छनोट भएको सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङ मार्गको सम्पूर्ण सञ्चालन र मर्मतको जिम्मेवारी लिनेछ । यस अवधिमा विदेशी विज्ञहरूबाट नेपाली प्राविधिक र व्यवस्थापकहरूलाई प्रविधि हस्तान्तरण गरिनेछ । यसबाट भविष्यमा अन्य सुरुङ मार्ग तथा द्रुतमार्ग जस्ता ठूला पूर्वाधारहरू स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सक्ने क्षमता विकास हुने विश्वास लिइएको छ ।
१५० जना कर्मचारीको दरबन्दी प्रस्ताव
सुरुङ मार्गलाई २४ सै घण्टा सञ्चालन गर्न र सम्भावित दुर्घटना, आगलागी वा प्रणालीमा आउनसक्ने खराबीलाई तत्काल सम्बोधन गर्न १५० जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ ।
सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा रहने जनशक्तिमध्ये सबैभन्दा बढी ६४ जना सुरक्षा व्यवस्थापन युनिटमा, ५४ जना सडक उपभोग दस्तुर (टोल) संकलनमा र १४ जना ट्राफिक अनुगमन तथा नियन्त्रणमा खटिनेछन् । यसैगरी, सिभिल तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहनेछन् ।
सरकारले २.७ किलोमिटर लामो मुख्य सुरुङ मार्ग प्रयोग गरेबापत लाग्ने शुल्क पनि निर्धारण गरिसकेको छ । जसअनुसार काठमाडौं प्रवेश गर्दा र बाहिरिँदा कार/भ्यानले क्रमशः रु. ६५ र रु. ६०, मिनिबस/मिनिट्रकले रु. ११५ र रु. ८०, बस/ट्रकले रु. २६० र रु. २०० तथा भारी उपकरणले रु. ६०० र रु. २५० दस्तुर तिर्नुपर्नेछ ।


