फेरि वर्षा र हिमपातको पूर्वानुमान : कहाँ-कहाँ पर्छ पानी ? कहिलेदेखि लाग्छ घाम ?
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १७, नेपालमा केही दिन लगातार वर्षा गराएको बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’ र अन्य मौसमी प्रणाली बाहिरिए पनि पश्चिमी वायुको प्रभाव भने कायमै रहेको छ । यही पश्चिमी वायु सक्रिय रहँदा भोलि (मंगलबार) र पर्सि (बुधबार) देशका केही भूभागमा पुनः वर्षा र हिमपात हुने मौसमविद्हरूले बताएका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार मंगलबार र बुधबार गण्डकी प्रदेशदेखि पश्चिमका भूभागहरूमा मध्यम खालको वर्षा हुनेछ । “यो भारी वर्षा होइन, त्यसैले बाढी, पहिरो र डुबान जस्ता विपद्को जोखिम छैन, डराउनु पर्दैन,” झाले भने, “यो वर्षाले हिउँदे बालीलाई फाइदा पुर्याउँछ, क्षति गर्ने खालको हुँदैन ।” उनका अनुसार काठमाडौं उपत्यकामा भने छिटपुट वर्षा हुन सक्ने छ तर त्यो पनि सम्भावना निकै कम छ ।
वर्षासँगै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको पनि पूर्वानुमान गरिएको छ । पश्चिमी क्षेत्रका साथै कोशी र वागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा समेत हल्का वर्षा र हिमपात हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविद्हरूले बिहीबारपछि मात्र मौसममा सुधार आउने र घमाइलो हुने जानकारी दिएका छन् । मौसमविद् विनोद पोखरेलका अनुसार, अघिल्लो प्रणाली बाहिरिए पनि वायुमण्डलमा आद्रतायुक्त हावा बाँकी रहेकाले मध्यदेखि पूर्वी क्षेत्रसम्मको आकाशमा बादल लागेको छ र यो क्रम बुधबारसम्म रहनेछ ।
यसअघि शनिबारसम्म बंगालको खाडीको ‘मोन्था चक्रवात’, अरब सागरको न्यूनचापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावले देशभर लगातार वर्षा र हिमपात भएको थियो । सोही हिमपातका कारण मनाङको तिलिचो ताल आधार शिविरमा फसेका १३ जना पर्यटकलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १५ देखि १६ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी लमजुङको बेंसीशहरमा ७१.१ मिलिमिटर वर्षा मापन गरिएको थियो ।


