दैनिक हजारौं सवारी गुड्ने नारायणगढ–मुग्लिन सडक किन छ जोखिमयुक्त ?

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १७, दैनिक हजारौँ मानिस राजधानी आउजाउ गर्ने नारायणगढ–मुग्लिन सडक, कहिले पहिरोले अवरुद्ध हुन्छ त कहिले ढुंगामाटोले खतरा सिर्जना गर्छ । चीनको सहयोगमा निर्माण भएको यो सडक अहिले आधुनिक रूपमा विस्तार भए पनि प्रकृतिको जोखिमबाट अझै सुरक्षित हुन सकेको छैन ।

सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार नारायणगढ–मुग्लिन सडक वि.सं. २०३२/३३ सालतिर चीन सरकारको सहयोगमा निर्माण गरिएको हो । सुरुवाती चरणमा यो सडक मिडियम लेनमा ५ दशमलब ५ मिटर चौडाइमा बनेको थियो ।

राजधानी काठमाडौंलाई जोड्ने प्रमुख मार्गको रूपमा विकसित यो सडकमा दैनिक हजारौँ सवारीसाधनहरू गुड्ने गरेका छन् । बढ्दो यातायातलाई मध्यनजर गर्दै वि.सं. २०७०/७१ सालदेखि सडकलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने कार्य सुरु गरी वि.सं. २०७५ सालमा विस्तार कार्य सम्पन्न गरिएको आचार्यले जानकारी दिए । यससँगै सडकमा रहेका १९ वटा पुलहरूलाई पनि डबल लेनमा रुपान्तरण गरिएको छ ।

सूचना अधिकारी आचार्यका अनुसार दासढुङ्गादेखि मुग्लिनसम्मको भू–वनोट पहिरो जाने प्रकारको भएकाले यो सडक खण्ड जोखिमयुक्त मानिन्छ । अधिकांश स्थानमा फ्याक्चर्ड रक (भाँचिएको ढुंगा)का पहाड भएकाले पहिरोको जोखिम बढी रहेको छ । हरेक वर्ष सक्रिय पहिरोका स्थानहरू परिवर्तन हुँदै जाने गरेको पनि बताइएको छ ।

विगतका वर्षहरूमा मौरी खोला र सेती दोभान खोला क्षेत्रमा बढी समस्या हुने गरेको भए पनि हालका वर्षहरूमा तुइन खोला, काली खोला र नाम्सी खोलामा पहिरोको जोखिम बढी रहेको आचार्यले बताए ।

जोखिम न्यूनीकरणका लागि सडक डिभिजन कार्यालयले विभिन्न प्राविधिक उपायहरू अवलम्बन गर्दै पहिरो हटाउने उपकरणहरू तयारी अवस्थामा राखेको र नियमित रूपमा काम भइरहेको आचार्यले जानकारी दिए ।

प्रकाशित : 3 November, 2025

प्रतिक्रिया दिनुहोस्