दाउन्नेको सडकमा १० किलोमिटर लामो जाम, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १७, पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्डको दाउन्नेमा सडक हिलाम्मे र चिप्लो हुँदा सवारी आवागमन असहज बनेको छ । विगत ५ दिनदेखि जारी यो समस्याका कारण हजारौँ यात्रु घण्टौँदेखि सडकमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले सोमबार एक सूचना जारी गर्दै यो खण्डमा गाडी नचलाउन र वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रहरीका अनुसार, पानी पर्न रोकिए पनि सडक हिलो र चिप्लो भएकाले दाउन्नेको उकालोमा गाडीहरू तान्न नसकेर ठाउँठाउँमा बिग्रिएका छन् । दाउन्नेको पूर्वी र पश्चिम दुवै खण्डमा १० किलोमिटरभन्दा लामो सवारी साधनको जाम लागेको छ ।
यसैबीच सवारीसाधनको चाप भए पनि केही स्थान बाहेक सबै स्थानमा दुईतर्फी बाटो सञ्चालनमा आएसँगै आवत जावतमा सहजता हुँदै गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)ले जनाएको छ । आज दिउँसोदेखि धेरै जसो स्थानमा दुईतर्फी सडक सञ्चालनमा आएको प्रहरीले जनाएको हो ।
प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार, दाउन्नेको उकालोमा आधा दर्जनभन्दा बढी सवारी साधन बिग्रिएर बसेका छन्, जसलाई तत्काल हटाउन कठिन देखिएको छ । सवारी साधनको अत्यधिक चाप बढेपछि प्रहरीले कावासोती, डण्डा, चोरमारा र अरुणखोला जस्ता स्थानमा गाडीहरूलाई रोकेर राखेको छ ।
यो समस्याको मुख्य कारण सडक विस्तार आयोजनाको ढिलासुस्ती र अव्यवस्था हो । दाउन्नेको १४ किलोमिटर सडकखण्डमध्ये अधिकांश भाग कच्ची र खाल्डाखुल्डीले भरिएको छ । निर्माणको जिम्मा लिएको चाइना स्टेट कम्पनीले जम्मा ३ किलोमिटर सडक मात्र कालोपत्रे गरेको छ । साथै, ४ ठाउँमा कल्भर्ट निर्माण र अन्य स्थानमा ढलानको काम नसकिँदा सडक साँघुरो र एकतर्फी बनेको छ, जसले गर्दा सामान्य पानी पर्दा पनि यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।


