जाँचबुझ आयोगलाई रविको जवाफ : ‘म भागेको होइन, प्रशासनले नै निकालेको हो’
सहयात्रा टिभी
काठमाडौं । कात्तिक १८, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू भदौ २४ गते नख्खु कारागारबाट भागेको नभई तत्कालीन प्रशासनले नै योजनाबद्ध रूपमा बाहिर पठाएको खुलासा गरेका छन्। जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सोमबार कारागारमै पुगेर सोधपुछ गर्दा उनले यस्तो बयान दिएका हुन्।

‘तपाईं किन र कसरी यहाँबाट निस्कनुभएको हो ?’ भन्ने आयोगको प्रश्नमा लामिछानेले आफ्नो इच्छाविपरीत जेलबाट बाहिरिएको दाबी गरे। ‘म जेलभित्र रहँदा समग्र सुरक्षास्थिति चुनौतीपूर्ण हुने भयो भन्दै तत्कालीन गृह र प्रहरी नेतृत्वले नै मलाई बाहिर पठाएको हो,’ लामिछानेको भनाइ उद्धृत गर्दै एक स्रोतले भन्यो।
आयोगसमक्ष उनले बाहिर निस्कनु नियमसंगत नभएको महसुस भएपछि आफू स्वयं कारागार फर्किएको समेत स्पष्ट पारेका छन्। ‘मेरो बाहिरिएको विषयमा अनेक टीकाटिप्पणी भए र त्यो काम अनुचित हो भन्ने थाहा पाएपछि म आफैँ फर्किएँ, मलाई पुलिसले समातेर ल्याएको होइन,’ लामिछानेले भने।
लामिछानेलाई कारागारबाट बाहिर पठाउने घटनामा संलग्न व्यक्ति र उनीहरूको भूमिकाबारे स्पष्ट हुन आयोगको टोलीले उनलाई भेटेको हो। यसअघि आयोगले विभिन्न व्यक्तिको कल डिटेल्स रेकर्ड (सीडीआर) को विश्लेषणका आधारमा यस घटनामा जोडिएका अन्य पात्रहरूको पहिचान गरिसकेको छ।
यो प्रकरणमा रविकी पत्नी निकिता र पार्टीका उपसभापति डीपी अर्यालको समेत सक्रियता देखिएकाले उनीहरूलाई पनि सोधपुछका लागि तानिने भएको छ। यसका साथै, घटनामा संलग्न तत्कालीन प्रहरी नेतृत्व र प्रशासन क्षेत्रका जिम्मेवार व्यक्तिहरूमाथि स्थानहदको आदेश (एक निश्चित स्थान नछोड्नु भन्ने आदेश) जारी भइसकेको छ।
यद्यपि, आयोगका प्रवक्ता तथा पूर्वएआईजी विज्ञानराज शर्माले भने लामिछानेसँगको भेटलाई ‘अनौपचारिक’ र ‘सामान्य कुराकानी’ मात्र भएको बताएका छन्।
लामिछाने विजय यात्राको शैलीमा कारागारबाट बाहिरिएपछि त्यसले देशभरका कारागारमा नकारात्मक असर पारेको र कैदीबन्दी भाग्ने लहर नै चलेको थियो, जसकारण आयोगले यो घटनालाई गम्भीरतापूर्वक छानबिन गरिरहेको छ।


