काभ्रेमा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २५ , जेन्जी आन्दोलनक्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका प्रहरी कार्यालय बनेपाबाट फरार पाँच प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते कार्यालयमा भएको तोडफोडक्रममा हिरासतबाट भागेका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिरासतबाट भागेका १२ मध्ये पाँच जनालाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ पर्नेमा अभद्र व्यवहारमा मुद्दा दर्ता भएका पनौती नगरपालिका–४ का २८ वर्षीय सरोज पोडे, सोही मुद्दाका पनौती नपा–९ का ३३ वर्षीय उत्तमबहादुर तिमल्सिना र रोशी गाउँपालिका–९ का ४६ वर्षीय नरबहादुर लुङ्गेली छन् । पोडेलाई पनौती नपा–७ बाट, तिमल्सिनालाई पनौती नपा–७ बाट र लुङ्गेलीलाई रोशी–९ बाट पक्राउ गरिएको हो ।
त्यसैगरी, जबर्जस्ती करणीमा मुद्दा चलाइएका खोटाङको जन्तेढुङ्गा गापा–६ का २३ वर्षीय प्रविन मगर र सवारी अङ्गभङ्गमा हिरासतमा रही फरार रहेका रोशी गापा–१ का ३२ वर्षीय भीमबहादुर सुनारलाई पक्राउ गरिएको जनाइएको छ । मगरलाई उनकै घरबाट र सुनारलाई बनेपा नपा–८ बाट पक्राउ गरिएको विष्टले जानकारी दिए । उनीहरूलाई सोमबार पक्राउ गरी पुनः हिरासत पठाइएको र उनीहरूको मुद्दाबारे थप अनुसन्धान भइरहेको बतार्एको छ ।


