सरकारले मतदाता नामावली दर्ता सहज बनाउन आयोगलाई आग्रह

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २५ , सरकारले निर्वाचन आयोगलाई मतदाता नामावली दर्ता प्रक्रिया सहज छिटो बनाउन र कार्यसमय समेत बढाउन आग्रह गरेको छ ।

 

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने अन्तिम मिति नजिँकिँदा देशभरका दर्ता केन्द्रमा भीड बढेपछि सरकारले दर्ता प्रक्रिया सहज बनाउन र कार्यसमय पनि बढाउन भनेको हो ।

फागुन २१ गते तोकिएको निर्वाचनका लागि हाल मतदाता नामावली दर्ता प्रक्रिया जारी छ । नामावली दर्ताका लागि कात्तिक ३० गतेसम्म समय तोकिएको छ ।

मतदाता नामावली दर्ताका क्रममा जनशक्ति अभाव, प्राविधिक समस्या तथा सेवाग्राहीले लामो समय कुर्नुपरेको गुनासो बढिरहेको छ ।

प्रधानमन्त्री कार्यालयले मतदाता नामावली संकलन कार्य तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकिने अवस्था देखिएमा कात्तिक ३० गतेसम्मको म्याद पुनरावलोकन गर्न समेत भनेको छ ।

प्राविधिक समस्याले दर्ता कार्य प्रभावित भएपछि सरकारले देशभरका निर्वाचन कार्यालयहरूमा बढ्दो चापअनुसार कार्यसमय तथा सिफ्ट थप गर्न र आवश्यक परे अतिरिक्त कर्मचारी परिचालनका लागि सम्बन्धित निकायसँग समन्वय गर्न भनेको छ । यसबारे आवश्यक सहजीकरणका लागि गृहमन्त्रालयलाई समेत बोधार्थ पठाइएको छ ।

प्रकाशित : 11 November, 2025

प्रतिक्रिया दिनुहोस्