नवलपरासीमा पुलबाट खोलामा कार खस्दा एक जनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । मंसिर २ , नवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार भुमहीको बडेरामा पुलबाट खोलामा खस्दा गम्भीर घाइते अर्घाखाँचीको धातिवाङका मणिराम पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय सुनवल नवलपरासीका अनुसार सोमबार दिउँसो १ बजेतिर भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उद्धार गरी उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको थियो ।
दुर्घटनामा कार चालक हरिसचन्द्र पौडेल सामान्य घाइते भएका छन् । मृतक मणिराम हरिसचन्द्रका बुवा हुन् । प्रहरीका अनुसार बाबु–छोरा अर्घाखाँचीबाट काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेका थिए ।


