उपसभामुखले बैठक बोलाएपछि मधेश सभामा कडा सुरक्षा

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३ , उपसभामुख बबिता राउत ईशरले आव्हान गरेको मधेश प्रदेशसभाको बैठकको सम्भावित सुरक्षा चुनौतीलाई लिएर प्रहरी अलर्ट गरिएको छ । सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाउन उपसभामुखले दिउँसो १ बजेबाट बैठक आव्हान गरेकी छन् ।

बैठक सञ्चालनको अन्तिम तयारी भइरहँदा मधेश भवन अगाडि प्रहरीको बाक्लो उपस्थिति छ । इन्स्पेक्टर विक्रम साहको कमाण्डमा त्यहाँ प्रहरी परिचालन गरिएको हो । बाहिर हतियारी सुरक्षाकर्मी र भित्र मर्यादापालकको बाक्लो उपस्थिति छ ।

२ सातादेखि अस्तव्यस्त बनेको मधेश प्रदेशको राजनीति अझै सङलिएको छैन । यहाँ एमाले एकातिर र अरु सबै दल अर्कोतिर उभिएका छन् । प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्ति, केन्द्र सरकारबाट प्रदेश प्रमुख परिवर्तन र मुख्यमन्त्रीविरुद्धको सर्वोच्च अदालतको मुद्दाले मधेशको राजनीति गर्माएको हो ।

सँगै सभामुखलाई हटाउन मागसहित ७ राजनीतिक दलले बुझाएको अविश्वासको प्रस्ताव कायमै छ । हिजो विपक्षी दलका २५ प्रतिशत सांसदहरूले हस्ताक्षर गरेर उक्त प्रस्तावमाथि छलफल चलाउन सदन डाक्न आग्रह गरेका थिए ।

यता सर्वोच्च अदालतले सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिएको छ । सभामुख मण्डलले भने बैठक आह्वान गर्ने जिम्मेवारी सचिवको रहेको बताउँदै उपसभामुखले विधि र प्रक्रिया मिचेको बताएका छन् । एमाले पनि शक्ति प्रदर्शनसहित सडकमा आएको छ । साथै ७ दल पनि संघर्षमा रहेकाले मुठभेडको सम्भावना देखिएको छ ।

प्रकाशित : 19 November, 2025

प्रतिक्रिया दिनुहोस्