वार्तामा बस्नुअघि जेनजी युवाहरूले सडकमै गरे छलफल

सहयात्रा टिभी

काठमाडौं । मंसिर ४ , स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्तावमाथि आन्दोलनरत जेनजी युवाहरूले सडकमै छलफल गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षसँग वार्ताको आह्वान गरेको थियो । प्रशासनको आह्वानपछि के गर्ने भन्नेबारे निर्णय गर्न आन्दोलनरत युवाहरू सिमरा चोकस्थित मुख्य सडकमै छलफलमा बसेका हुन् ।

त्यसक्रममा जेनजी अगुवा सम्राट उपाध्यायले जिल्ला प्रशासन कार्यालयबाट आफूहरूलाई कलैयामा रहेको प्रशासन कार्यालयमा बोलाइएको जानकारी गराएका थिए ।

छलफलमा सहभागीहरूले वार्तामा बस्नुअघि बुधबार जेनजी युवा माथि सबैभन्दा पहिलो मुक्का हान्ने एमालेको युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ गर्नुपर्ने अडान राखेका छन् ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जेनजी समूहलाई वार्ताको लागि टोली बनाएर आउन प्रशासनले आह्वान गरेको तर उनीहरूले प्रशासनको टोली घटनास्थलमै आउनु पर्ने धारणा राखेको जानकारी दिए ।

 

 

प्रकाशित : 20 November, 2025

प्रतिक्रिया दिनुहोस्