सूर्यविनायक-धुलिखेल सडक विस्तार: ५० प्रतिशत, असारभित्र निर्माण सक्न मन्त्री घिसिङको निर्देशन
सहयात्रा टिभी
काठमाडौं । मंसिर ७, अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार आयोजनाको समग्र भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । १५.८ किलोमिटर लामो यस सडकलाई ६ लेनमा विस्तार गर्न दुई वटा प्याकेजमा विभाजन गरी तीव्र रूपमा काम भइरहेको छ ।

आयोजनाको विवरण अनुसार, सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर (पहिलो प्याकेज) खण्डको प्रगति ४५ प्रतिशत रहेको छ भने साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर (दोस्रो प्याकेज) खण्डको विस्तार प्रगति ५५ प्रतिशत पुगेको छ । हाल दुवै प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको छ भने साँगा-धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे समेत गरिएको छ ।
सडक विस्तार कार्यको प्रगति बुझ्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आयोजना स्थलको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मन्त्री घिसिङले सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीहरूसँग छलफल गर्दै काम गर्ने मौसम अनुकूल रहेकाले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए ।
मन्त्री घिसिङले जनशक्ति र उपकरण थप गरी पूर्ण क्षमतामा काम गर्न र आगामी असार मसान्तभित्र सडक विस्तार सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ्न आग्रह गरे । आयोजनाका तर्फबाट गर्नुपर्ने निर्णयहरू तत्काल गर्न निर्देशन दिँदै उनले अर्थ मन्त्रालयबाट प्रतिबद्धता प्राप्त भइसकेकाले अब निर्माणका लागि बजेटको अभाव नहुने स्पष्ट पारे ।
विगतमा सडक सीमा विवाद, घरटहरा हटाउने झन्झट र बजेट अभावका कारण आयोजनाको काम प्रभावित बनेको थियो । चालु आर्थिक वर्षका लागि आयोजनालाई ७० करोड रुपैयाँ मात्र विनियोजन गरिएको भए पनि आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ ।
अनुगमनकै क्रममा मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग भेट गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएका समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह समेत गरेका छन् ।


