थुनामा रहेका पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् ।

उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको बताए ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको बिहीबारको इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिँदै ‘मुल जाहेरीमा महराको नामै छैन ।

पहिलो पुरक अभियोगमा पनि उनीबारे केही उल्लेख छैन । अरु अभियुक्तले पनि पोल गरेको देखिँदैन’ भनेको थियो ।

मुल अभियोग र पहिलो पुरक अभियोगको समेत प्रमाणहरुको विश्लेषण गरी फैसला भइसकेको, बयान तथा प्रमाणले समेत उनलाई तत्काल थुनामा राख्न पर्ने कुनै कारण नदेखिएको उल्लेख उच्चले गरेको थियो ।

यसअघि २९ असोज मा काठमाडौं जिल्ला अदालतले गरेको आदेश उल्टाउँदै उनलाई २० लाख धरौटीमा छाड्न अदालतले आदेश दियो ।

 

 

 

प्रकाशित : 27 November, 2025

प्रतिक्रिया दिनुहोस्