आफूखुसी उमेदवारी घोषणा गर्ने प्रवृत्ति रोक्न रास्वपाको निर्देशन
सहयात्रा टिभी
काठमाडौं । मंसिर १६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको आधिकारिक निर्णयबिना आफूखुसी उमेदवारी घोषणा नगर्न आफ्ना नेता तथा कार्यकर्तालाई सचेत गराएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आफूलाई उमेदवारका रूपमा प्रस्तुत गर्ने, आकांक्षी रहेको बताउने वा उमेदवारी नै घोषणा गर्ने क्रम बढेपछि पार्टीको उमेदवार छनोट समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

समितिका संयोजक विपिनकुमार आचार्यले सोमबार (मंसिर १५) एक सूचना जारी गर्दै हालसम्म पार्टीले रुपन्देही क्षेत्र नम्बर–३ मा मात्र आधिकारिक रूपमा उमेदवार चयन गरेको जानकारी दिएका छन्। सो क्षेत्रबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उमेदवारको टुंगो नलागेको संयोजक आचार्यले स्पष्ट पारेका छन्। पार्टीको आधिकारिक संयन्त्र र विधि मिचेर सार्वजनिक अभिव्यक्ति दिँदा भ्रम सिर्जना हुन सक्ने भन्दै उनले यस्तो गतिविधि रोक्न आग्रह गरेका हुन्।
‘हार्दिक अनुरोध’ शीर्षकमा जारी गरिएको उक्त सूचनामा उमेदवार छनोट प्रक्रिया पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने उल्लेख गरिएको छ। पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उमेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचारप्रसार वा गतिविधि नगर्न र नगराउन रास्वपाले सम्पूर्ण नेता, सदस्य तथा शुभेच्छुकहरूमा निर्देशन दिएको छ। रास्वपाले उमेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल समेत गरेको छ।



