सडक विस्तारबाट विस्थापित हुने व्यवसायीलाई हेटौँडा उपमहानगरले विभिन्न स्थानमा व्यवस्थापन गर्ने

सहयात्रा टिभी

काठमाडौं । मंसिर १६, सडक डिभिजन हेटौँडाले सडकको दायाँ–बायाँ २५–२५ गज विस्तार गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएसँगै हेटौँडा उपमहानगरपालिकाले विस्थापित हुने व्यवसायीहरूको व्यवस्थापनका लागि विभिन्न विकल्प अघि सारेको छ । सडक विस्तारका क्रममा व्यवसाय सङ्कटमा पर्ने अवस्था आएपछि उपमहानगरले बजार क्षेत्रका खाली सटर तथा अन्य व्यावसायिक भवनहरूमा उनीहरूलाई पुनःस्थापना गर्न सकिने जनाएको छ ।

मेयर मीनाकुमारी लामाका अनुसार विस्थापित व्यवसायीलाई तत्कालका लागि हेटौँडा बसपार्कमा रहेका ४० वटा सटर र हेटौँडा–११ स्थित तरकारी तथा फलफूल थोक बजारका लागि निर्माण भएका ६० वटा कोठामा सार्न सकिनेछ । यसका अतिरिक्त भुटनदेवी माध्यमिक विद्यालयले निर्माण गरेका खाली सटरहरू र बजार क्षेत्रमा रहेका अन्य सुपरमार्केटहरूमा समेत व्यवसायीलाई व्यवस्थापन गर्न सकिने विषयमा उपमहानगरपालिकामा छलफल भइरहेको छ । यस कार्यमा आवश्यक सहयोग र समन्वयका लागि उपमहानगरले मकवानपुर उद्योग वाणिज्य संघलाई आग्रह समेत गरेको छ ।

सडक छेउका संरचना भत्किने हल्लासँगै धेरैजसो व्यवसायीले पूर्ववतः तयारी स्वरूप हेटौँडा बजार क्षेत्रमा दोस्रो पसलको व्यवस्थापन गरिसकेको उपमहानगरको दाबी छ । लामो समयदेखि खाली रहेको नारायणी मलसमेत व्यवसायीहरूले बुक गरिसकेका छन् ।

सडक डिभिजन कार्यालयले मंसिर ५ गते १५ दिने सूचना जारी गर्दै मंसिर २० गतेदेखि अतिक्रमण हटाउने चेतावनी दिइसकेको छ । यस अभियान अन्तर्गत हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरीसम्मका ५ सय ३१ घरटहरा भत्काइनेछन् । घरटहरा हटाउने र सडक विस्तार गर्ने कार्यलाई तीव्रता दिन सडक डिभिजनले मेनरोडका पेट्रोल पम्पहरूलाई इन्धन बिक्रीमा रोक लगाइसकेको छ भने जिल्ला प्रशासन कार्यालय मकवानपुरले विकास निर्माणको कार्यमा अवरोध नगर्न सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित : 2 December, 2025

प्रतिक्रिया दिनुहोस्