मधेशमा विपक्षीद्वारा तत्काल प्रदेश सभा बैठक बोलाउन माग

सहयात्रा टिभी

काठमाडौं । मंसिर १६,सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेसँगै विपक्षी गठबन्धनले प्रदेश सभाको बैठक तत्काल बोलाउन दबाब बढाएको छ । अदालतको आदेश आएको भोलिपल्ट मंगलबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सहितका दलहरूले उपसभामुख बबिता राउतलाई भेटी दिउँसो ४ बजे बैठक राख्न मौखिक आग्रह गरेका हुन् ।

सर्वोच्चले मुख्यमन्त्रीले तोकिएको समयभित्र विश्वासको मत नलिए वा प्राप्त गर्न नसकेको अवस्थामा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । यही संवैधानिक शून्यता र सम्भावित सत्ता समीकरणलाई मध्यनजर गर्दै विपक्षी दलहरूले सक्रियता बढाएका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने वा नलिने जुनसुकै कदम चाले पनि अन्ततः नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने निष्कर्षमा विपक्षी नेताहरू पुगेका छन् ।

यसै सन्दर्भमा, सम्भावित राजनीतिक उतारचढावलाई ध्यानमा राख्दै सम्बन्धित दलहरूले आफ्ना सांसदहरूलाई जिल्ला नछाड्न कडा निर्देशन दिएका छन् । कांग्रेस सांसद अंजना पण्डितका अनुसार सांसदहरूलाई जनकपुरमै रहन भनिएको छ भने दिउँसो १ बजे वरिपरि अनौपचारिक भेटघाट तथा छलफलको कार्यक्रमसमेत तय गरिएको छ ।

प्रकाशित : 2 December, 2025

प्रतिक्रिया दिनुहोस्