यस वर्षको हिउँदमा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण
सहयात्रा टिभी
काठमाडौं । मंसिर १८, जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा देशका अधिकांश भूभागमा सुक्खा र न्यानो मौसम रहने प्रक्षेपण गरेको छ । विभागले यही मंसिर १५ गतेदेखि फागुन १६ गतेसम्मको हिउँद अवधिको सम्भावित मौसमी अवस्था सार्वजनिक गर्दै यसपटक सरदरभन्दा कम वर्षा हुने र अधिकतम तथा न्यूनतम तापक्रम औसतभन्दा बढी रहने जानकारी दिएको हो ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार देशका विभिन्न भागमा वर्षा कम हुने सम्भावना उच्च देखिएको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी, लुम्बिनीका पश्चिमी, बाग्मतीका दक्षिणी, मधेशका उत्तरी र कोशी प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । यस्तै सुदूरपश्चिम र कर्णालीका मध्य, लुम्बिनीका मध्य तथा पूर्वी, गण्डकीका पूर्वी, बाग्मतीका मध्य तथा उत्तरी, मधेशका दक्षिणी र कोशी प्रदेशका केही भूभागमा पनि कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ । देशका अन्य बाँकी भूभागमा पनि सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
वर्षा कम हुनुका साथै यस वर्षको हिउँदमा तापक्रम पनि बढ्ने आकलन गरिएको छ । अधिकतम र न्यूनतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने देखिएकाले समग्रमा यो हिउँदयाम न्यानो हुनेछ । यद्यपि, मौसमविद्हरूले सरदरमा न्यानो हुनुको अर्थ हिउँदका सबै दिन न्यानो हुन्छन् भन्ने नबुझ्न आग्रह गरेका छन् । तथ्याङ्क अनुसार गण्डकी प्रदेशका उत्तरी र दक्षिणी भूभाग, बाग्मतीका दक्षिणी र कोशीका उत्तरी र दक्षिण–पश्चिम भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ भने कर्णाली, लुम्बिनी लगायत अन्य प्रदेशका भूभागमा पनि तापक्रम बढ्ने सम्भावना उच्च छ ।
त्यसैगरी, न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी नै रहने विभागको निष्कर्ष छ । सुदूरपश्चिमका उत्तरी र दक्षिण पश्चिम, कर्णालीका मध्य तथा उत्तरी, लुम्बिनी र मधेशका अधिकांश भूभाग, बाग्मतीका उत्तर–पूर्व र दक्षिण पश्चिम तथा कोशीका दक्षिण र उत्तर–पश्चिम भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । देशका बाँकी भूभागमा पनि न्यूनतम तापक्रम औसतभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।


