किराँत समुदायले आज उल्लासपूर्वक मनाउँदै उधौली पर्व
सहयात्रा टिभी
काठमाडौं । मंसिर १८, मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसर पारेर आज किराँत समुदायले आफ्नो महान् सांस्कृतिक चाड उधौली पर्व देशभर धूमधामका साथ मनाउँदैछन् । नयाँ अन्नबाली भित्र्याएको खुसीयालीमा प्रकृतिलाई धन्यवाद दिने र पितृहरूको स्मरण गर्ने विशेष दिनका रूपमा यो पर्व मनाउने गरिन्छ ।

किराँत समुदायभित्रका विभिन्न जातिले आ–आफ्नो भाषा र संस्कार अनुसार यो पर्वलाई फरक–फरक नाम दिएका छन् । याक्खाले ‘चासुवा’, सुनुवारले ‘फोलस्यादर’, राईले ‘उधौली सकेला’ र लिम्बूहरूले ‘चासोक तङ्नाम’का नाममा यो पर्व मनाइरहेका छन् । लिम्बू समुदायले तीन दिनअघिदेखि नै चासोक तङ्नाम मनाउन सुरु गरे पनि आज भने किराँत समुदायका सबैले संयुक्त रूपमा उधौली पर्व मनाउने परम्परा रहेको छ । नाम फरक भए पनि समग्रमा यसलाई उधौलीका नामले चिनिने र सबैको मर्म एउटै रहेको संस्कृतिविद्हरूको भनाइ छ ।
यो पर्व मुख्यतया कृषि जीवनशैली र ऋतु परिवर्तनसँग सम्बन्धित छ । खेतबारीमा लगाएको अन्नबाली पाकेपछि आफ्ना इष्टदेवता र पितृलाई नयाँ अन्न चढाएर, खानका लागि अनुमति माग्दै यो पर्व मनाइन्छ । यसअघि वैशाख शुक्ल पूर्णिमामा खेतीपाती राम्रो होस् भनी ‘उभौली’ पूजा गरेका किराँतहरूले आज खेतीपाती राम्रो भएकोमा भूमि र प्रकृतिको शक्ति (साकेला/भूमे) लाई धन्यवाद दिने गर्दछन् । साथै, जाडो मौसम सुरु भएकाले मानिस, जनावर तथा चराचुरुङ्गी लेकबाट बेसी (तल) झर्ने समयको सङ्केतका रूपमा पनि उधौलीलाई लिने गरिन्छ । यसलाई पर्यावरण अनुकूलताको उत्कृष्ट नमुनाका रूपमा अनुसन्धाताहरूले व्याख्या गरेका छन् ।
पर्व मनाउन बिहानैदेखि किराँत महिला तथा पुरुषहरू आफ्नो परम्परागत जातीय वेशभूषामा सजिएर विभिन्न स्थानमा भेला भएका छन् । विशेषगरी ललितपुरको ऐतिहासिक र धार्मिक तीर्थस्थल सानो हात्तीवनमा आज भव्य मेला लागेको छ । त्यहाँ उपस्थित भई उनीहरूले सामूहिक रूपमा पूजाआजा गर्नुका साथै च्याब्रुङ, ढोल र झ्याम्टाको तालमा साकेला, चण्डी र विभिन्न परम्परागत नाच नाचेर मनोरञ्जन गरिरहेका छन् । किराँतहरूले मूर्ति पूजा नगरी आकृति विनाको अदृश्य शक्ति तागेरा निङ्वाफुमाङ तथा युमासामाङ र थेवासामाङलाई इष्टदेवताका रूपमा पुज्ने गर्दछन् ।
आजकै दिन खस आर्य समुदायले धान्य पूर्णिमा र नेवार समुदायले योमरी पूर्णिमा मनाउने गर्दछन् । समुदाय र नाम फरक भए पनि नयाँ अन्न बाली भित्र्याएपछि देउतालाई चढाएर खाने परम्परा र भाव भने सबैको एउटै देखिन्छ । यस सांस्कृतिक पर्वको महत्त्वलाई कदर गर्दै सरकारले विगतमा कटौती गरेको बिदा पुनः प्रदान गर्दै आज देशभर सार्वजनिक बिदा दिएको छ ।


