गोवाको नाइट क्लबमा भीषण आगलागी : २५ जनाको मृत्यु, सिलिन्डर विस्फोटको आशंका

सहयात्रा टिभी

काठमाडौं । मंसिर २१, शनिबार राति भारतको गोवास्थित एक नाइट क्लबमा भएको भीषण आगलागीमा परी कम्तीमा २५ जनाको ज्यान गएको छ। प्रहरीले सिलिन्डर विस्फोटका कारण आगलागी भएको हुन सक्ने आशंका व्यक्त गरेको छ।

उत्तरी गोवाको अर्पोरा क्षेत्रमा रहेको उक्त नाइट क्लबमा मारिनेहरूमा केही पर्यटक पनि समावेश छन्। यद्यपि, मृतकहरूमध्ये अधिकांश सोही क्लबका कर्मचारीहरू रहेको अनुमान गरिएको छ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले सामाजिक सञ्जाल ‘एक्स’ मा जानकारी दिँदै यो दर्दनाक घटनामा २५ जनाको मृत्यु भएको र ६ जना घाइते भएको पुष्टि गरेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्री सावन्तले मृतकहरूमध्ये अधिकांश नाइट क्लबको भान्सा (किचन) का कर्मचारीहरू रहेको र त्यसमा तीन जना महिलासमेत सामेल रहेको बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र राष्ट्रपति द्रौपदी मुर्मुले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले ‘एक्स’ मा लेखेका छन्, “गोवाको अर्पोरामा भएको त्रासदी अत्यन्तै दुःखद छ। आफ्ना प्रियजन गुमाउनेहरूप्रति मेरो समवेदना छ। म घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। मैले गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तजीसँग स्थितिबारे कुराकानी गरेको छु। राज्य सरकारले पीडितहरूलाई हरसम्भव सहयोग प्रदान गरिरहेको छ।”

प्रधानमन्त्री कार्यालयले घटनामा ज्यान गुमाउने र घाइते हुनेहरूका लागि आर्थिक सहायताको घोषणा गरेको छ। पीएमओले जानकारी दिए अनुसार, “गोवाको अर्पोरामा भएको दुर्घटनामा मारिएका प्रत्येक व्यक्तिका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २–२ लाख रुपैयाँ र घाइतेहरूलाई ५०–५० हजार रुपैयाँ प्रदान गरिनेछ।”

गोवाका डीजीपी आलोक कुमारले घटनाबारे जानकारी दिँदै भने, “अर्पोरामा एउटा दुर्भाग्यपूर्ण दुर्घटना भएको छ। शनिबार मध्यराति १२ बजेर ४ मिनेटमा प्रहरी कन्ट्रोल रुमलाई आगलागीको सूचना प्राप्त भयो। दमकल र एम्बुलेन्स तत्काल घटनास्थलमा पुगे। आगो नियन्त्रणमा लिइएको छ र शवहरू बरामद गरिएका छन्।”

उनले थपे, “धेरैजसो शव रेष्टुरेन्टको भान्सामा भेटिएका छन्। आगलागीको कारणबारे विस्तृत अनुसन्धान गरिनेछ र नतिजाका आधारमा कारबाही अघि बढाइनेछ।”

घटनाका प्रत्यक्षदर्शी सुरक्षा गार्ड सञ्जय कुमार गुप्ताले भने, “घटना राति ११ देखि १२ बजेको बीचको हो। अचानक आगो लाग्यो… म गेटमा थिएँ… त्यहाँ डीजे र डान्सरहरू आउनेवाला थिए र निकै भीडभाड हुनेवाला थियो।”

नाइट क्लब नजिकैको अर्को एक रेष्टुरेन्टका सुरक्षा गार्डले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार उनले टायर पड्किए जस्तै ठूलो आवाज सुनेका थिए। पछि सिलिन्डर विस्फोटका कारण आगो लागेको जानकारी पाइएको उनले बताए।

प्रकाशित : 7 December, 2025

प्रतिक्रिया दिनुहोस्