सहकारीका सञ्चालकलाई दोहोरो पदको जिम्मेबारी नलिन निर्देशन
सहयात्रा टिभी
काठमाडौं । मंसिर २४ , सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकलाई दोहोरो, तेहरो पदको जिम्मेबारी नलिन निर्देशन दिएको छ ।

विभागले सहकारी ऐनको व्यवस्था अनुसार एक व्यक्ति एक पटकमा एक पदमा मात्र हुनु पर्ने व्यवस्थाको कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
विभागले सोमबार निर्णय गर्दै सहकारी ऐन, २०७४ को दफा ४१ (५) मा रहेको कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था र दफा ४४ (१) को खण्ड (ग) मा रहेको कुनै सञ्चालक अर्को सहकारी संस्थाको सञ्चालक रहेमा निज आफ्नो पदमा बहाल रहन नसक्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
विभाग र सहकारी नियामक निकायहरूबाट जारी निर्देशन तथा मापदण्ड समेत पालना नगरी हालसम्म पनि केही व्यक्तिहरू दोहोरो सञ्चालकका रुपमा कार्यरत रहेको पाइएको हुनाले यथाशीघ्र कानुनी प्रावधान कार्यान्वयन गर्न सबै सहकारी संस्था तथा सञ्चालक सदस्यलाई निर्देशन जारी गरेको हो ।
राष्ट्रिय सहकारी बैंकदेखि सहकारी संघहरूमा रहेको दोहोरो पदको सन्दर्भमा कानुनको पालना नभएको विषयमा समाचार आएपछि विभागले उक्त निर्देशन जारी गरेको हो ।
सहकारी क्षेत्रमा सुशासन प्रबर्द्धनका माध्यमबाट सहकारीका मूल्य मान्यता तथा सिद्धान्त स्थापित गरी सहकारीलाई मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको एक सशक्त मेरुदण्डका रुपमा अँगाल्न पनि ऐन नियमको पालना गर्नु पर्ने विभागले जनाएको छ ।
कानुन तथा नियमनकारी निकायका निर्देशन परिपालना गर्नु, स्वार्थको द्वन्द्वका कारणले हुन सक्ने स्रोतको दुरुपयोग रोक्नु, सञ्चालक समितिको कानुन बमोजिम वैधानिकता कायम राख्नु पर्ने सवालमा सबै सचेत र सजग हुनुपर्ने विभागले जनाएको छ ।


