एमाले ११औँ महाधिवेशन : अधिकांश प्रतिनिधि काठमाडौंमा, आवास र भोजनको व्यवस्था आफैँ गर्नुपर्ने

सहयात्रा टिभी

काठमाडौं । मंसिर २६ , नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरबाट करिब २३ सय प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्। भोलिदेखि सुरु हुने र तीन दिनसम्म चल्ने उक्त महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

एमाले सचिव छविलाल विश्वकर्माका अनुसार काठमाडौं उपत्यका र आसपासका बाहेक टाढाका अधिकांश प्रतिनिधिहरू महाधिवेशन स्थलमा आइपुगेका छन्। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, कोशी र गण्डकी प्रदेशका प्रतिनिधिहरू आइसकेका छन् भने मधेश र बागमतीका प्रतिनिधिहरू पनि आउने क्रममा छन्। केन्द्रीय कमिटीका सदस्यहरू र नयाँ नेतृत्वका आकांक्षीहरू भने ५–६ दिनअघि नै काठमाडौं आएर चुनावी दौडधुप र लबिइङमा व्यस्त भएका छन्।

महाधिवेशनको उद्घाटन सत्र भक्तपुरमा र बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ।

यसपटक एमालेले महाधिवेशन प्रतिनिधिहरूको खानपिन र बसोबासको जिम्मा सम्बन्धित व्यक्तिलाई नै दिएको छ। एमाले सचिव योगेश भट्टराईले पूर्वसूचना नै जारी गरेर प्रतिनिधिलाई आफ्नो व्यवस्थापन आफैँ गर्न आग्रह गरिएको जानकारी दिए। काठमाडौंमा धेरैजसोका आफन्त हुने र कम्युनिष्ट कार्यकर्ताहरू मिलेर बस्न सक्ने भएकाले यो निर्णय गरिएको उनको भनाइ छ। यद्यपि, काठमाडौंमा कोही नभएका वा समस्यामा परेका प्रतिनिधिहरूको हकमा भने सम्बन्धित जिल्लाका सम्पर्क कमिटीहरूले समन्वय गरिरहेको हुम्लाका प्रतिनिधि दल रावल र सचिव भट्टराईले स्पष्ट पारेका छन्।

यो व्यवस्थाप्रति प्रतिनिधिहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। दाङका हुकुम बस्नेतका अनुसार प्रतिनिधि आफैँले व्यवस्थापन गर्दा प्रक्रिया पारदर्शी हुने र ‘एमालेले मासुभात खुवायो’ वा ‘केही गरेन’ भन्नेजस्ता बाह्य आलोचना र अपजसबाट पार्टी मुक्त हुनेछ। रुकुमपूर्वका नन्दलाल शर्मा, दैलेखका लक्ष्मी पोखरेल, बाँकेका गोविन्द आचार्य लगायतले पनि प्रतिनिधिहरू आ–आफ्नो अनुकूलतामा व्यवस्थापन गरेर बसेको बताएका छन्।

काठमाडौं बसाइ लम्बिँदा खर्च र असजिलो हुने भएकाले प्रतिनिधिहरूले नेतृत्व चयनको प्रक्रिया छिटो टुंग्याउन शीर्ष नेताहरूलाई आग्रह गरेका छन्। यसपटक पुराना केन्द्रीय सदस्यहरू दोहोरिन चाहने र नयाँ आकांक्षीहरूको संख्या पनि उल्लेख्य रहेकाले व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ। पहिले मौन रहेका प्रतिनिधिहरू पनि काठमाडौं आएपछि उम्मेदवार बन्ने चाहना राख्दा आकांक्षीहरूको संख्या बढेको छ।

दैलेखका प्रतिनिधि रुद्र शाही लगायतले मुलुकको विषम परिस्थितिमा पार्टीभित्र गुटबन्दी नभई यसलाई ‘एकताको महाधिवेशन’ बनाउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित : 12 December, 2025

प्रतिक्रिया दिनुहोस्