रवि र छविको मुद्दाको पेसी आज तोकियो

सहयात्रा टिभी

काठमाडौं । पुस ३, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दिएको मुद्दाको पेसी आज तोकिएको छ ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको साप्ताहिक पेसी आज परेको हो ।

पटक-पटक स्थगित हुँदै आएकाले आजको पेसी पनि सुनुवाइ हुने वा नहुने यकिन छैन । यसअघि मंसिर २५ गते तोकिएको पेसी ‘हेर्न नमिल्ने’ परेपछि स्थगित भएको थियो। त्यसअघि मंसिर ११ गतेको पेसी भने लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो।

हालसम्म रवि लामिछानेतर्फबाट दुई पटक र छविलाल जोशी तर्फबाट एक पटक पेसी स्थगित गरिएको छ। लामिछाने र जोशीको यो पेसी कात्तिक १३ गतेयता निरन्तर सातौं पटकको हो।

कानुनअनुसार एउटै मुद्दामा पक्ष र विपक्ष दुवैबाट अधिकतम दुई-दुई पटक मात्र पेसी स्थगित गर्न पाउने व्यवस्था छ। यस मुद्दामा सरकारी पक्षबाट भने कुनै पनि पटक पेसी स्थगित भएको छैन । बिहीबारको पेसी गत १३ गतेपछि निरन्तर सरिरहेको छ ।

लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।

लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन् । लामिछानेले आफू सहकारीको शेयर सदस्य नभएको र ऋण लिने कुनै पनि प्रकृयामा संलग्न नरहेको दावी गर्दै सहकारी ठगीमा संलग्न नरहेको इन्कारी बयान दिंदै आएका छन् ।

 

 

प्रकाशित : 18 December, 2025

प्रतिक्रिया दिनुहोस्