बंगलादेशमा विद्यार्थी नेता हादीको मृत्युपछि भड्कियो हिंसा
सहयात्रा टिभी
काठमाडौं । पुस ४, बंगलादेशको गत वर्षको चर्चित विद्यार्थी आन्दोलनका नेता सरिफ उस्मान हादीको उपचारका क्रममा सिंगापुरमा मृत्यु भएपछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा हिंसा भड्किएको छ ।

बीबीसी बांग्लाका अनुसार, बिहीबार उनको निधनको खबर सार्वजनिक हुनासाथ ढाकाको धानमण्डी र शाहबाग लगायतका क्षेत्रमा विरोध प्रदर्शन, तोडफोड र आगजनीका घटनाहरू भएका छन् ।
मिडिया र ऐतिहासिक भवनमा आक्रमण
आक्रोशित भीडले बिहीबार राति ढाकाका विभिन्न स्थानमा आक्रमण गरेको छ । यसक्रममा बंगलादेशका दुई प्रमुख पत्रिकाहरू ‘प्रोथोम आलो’ र ‘द डेली स्टार’ को कार्यालयमा तोडफोड गरी आगो लगाइएको छ । आगजनीका बेला कार्यालयभित्र धेरै पत्रकारहरू थुनिएका थिए । पछि सेना, प्रहरी र बीजीबीको टोलीले आक्रमणकारीलाई हटाएर दमकलको सहायताले आगो नियन्त्रणमा लिई भित्र फसेकाहरूलाई सकुशल उद्धार गरेको थियो । शुक्रबार यी दुवै पत्रिकाको प्रकाशन र अनलाइन सेवा प्रभावित भएको छ ।
यस्तै, बंगलादेशका संस्थापक राष्ट्रपति शेख मुजिबुर रहमानको ऐतिहासिक निवास (धानमण्डी ३२), जसलाई संग्रहालय बनाइएको थियो, त्यहाँ पनि तोडफोड गरिएको छ । सन् २०२४ अगस्ट ५ पछि यो भवनमा तोडफोड र आगजनी भएको यो दोस्रो पटक हो । बिहीबार दिउँसो त्यहाँ डोजर (जेसीबी) समेत प्रयोग गरिएको देखिएको थियो । प्रदर्शनकारीले छायानाट संस्कृति भवनमा पनि क्षति पुर्याएका छन् ।
चट्टोग्राममा पनि हिंसा
ढाका बाहिर चट्टोग्राम, राजशाही लगायतका क्षेत्रमा पनि आक्रमणहरू भएका छन् । चट्टोग्राममा भारतीय सहायक उच्चायुक्तको आवास अगाडि ठूलो भीड जम्मा भई ढुंगा प्रहार गरेको स्थानीय पत्रकारहरूले जनाएका छन् । साथै, अपदस्थ अवामी लिग सरकारका पूर्व शिक्षामन्त्री मोहिबुल हसन चौधरी नौफेलको घरमा तोडफोड गरी आगजनी गरिएको छ ।
सरकारको अपील र राष्ट्रिय शोक
हिंसा भड्किएपछि बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले बिहीबार राति ११:२० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई धैर्य रहन आग्रह गरेका छन् । उनले कुनै पनि प्रकारका प्रचारबाजी र हल्लाको पछि नलाग्न तथा हतारमा निर्णय नगर्न अपिल गरेका छन् । युनुसले शनिबार एक दिनको लागि राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
गोली लागेर घाइते थिए हादी
गत शुक्रबार ढाकाको एक मस्जिदबाट निस्कने क्रममा हादीमाथि गोली प्रहार भएको थियो । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका उनलाई डिसेम्बर १५ मा एयरलिफ्ट गरी उपचारका लागि सिंगापुर लगिएको थियो ।
सिंगापुरको विदेश मन्त्रालयका अनुसार सिंगापुर जनरल हस्पिटल र नेसनल न्युरोसाइन्स इन्स्टिच्युटको अथक प्रयासका बाबजुद १८ डिसेम्बर २०२५ (बिहीबार) उनको निधन भयो । उनको शव शुक्रबार बंगलादेश ल्याइँदैछ ।
सरिफ उस्मान हादी गत वर्ष पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध भएको विद्यार्थी आन्दोलनका प्रमुखमध्ये एक थिए । उनी आगामी फेब्रुअरीमा हुने चुनावका लागि ढाका-८ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रचारप्रसारमा सक्रिय थिए । उनी ‘इन्किलाब मञ्च’ नामक संगठनका सदस्य थिए ।


