विराटनगरका दुई क्यासिनोमा प्रहरीको छापा, प्रबन्धकसहित २० जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । पुस ७, विराटनगरमा सञ्चालित दुईवटा क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएको अभियोगमा प्रहरीले आइतबार राति छापा मारेको छ । कानुनविपरीत नेपालीलाई जुवाजन्य खेलमा सहभागी गराएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले छापा मार्दा २० जना पक्राउ परेका छन् ।

सहरका गोल्डेन कोइन क्यासिनो र च्याम्पियन जोन क्यासिनोमा प्रहरीले कारबाही अघि बढाएको हो । प्रहरी कारबाहीका क्रममा गोल्डेन कोइन क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना नियन्त्रणमा लिइएका छन् भने च्याम्पियन जोन क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जना पक्राउ परेका छन् ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको भए पनि यी स्थानहरूमा नेपाली भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । निषेधित क्षेत्रमा नेपालीलाई प्रवेश गराउने कार्यमा संलग्न देखिएकाले व्यवस्थापकसहितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको एसपी कटवालले जानकारी दिए ।

पक्राउ परेका अन्य व्यक्तिहरूको नाम भने प्रहरीले सार्वजनिक गरिसकेको छैन । नियन्त्रणमा लिइएकामध्ये केहीले आफूहरू कर्मचारी भएको दाबी गरेका कारण प्रहरीले उनीहरूको ‘स्कृनिङ’ (छानबिन) सुरु गरेको छ । परिचयपत्र र भूमिकाको जाँचबुझ गरेपछि मात्र को कर्मचारी हुन् र को जुवा खेल्न आएका हुन् भन्ने यकिन हुने प्रहरीले जनाएको छ । यो छानबिन प्रक्रिया सकिएपछि मात्रै कति जनाविरुद्ध कानुनी मुद्दा चलाउने भन्ने निर्णय गरिने एसपी कटवालले स्पष्ट पारेका छन् ।

प्रकाशित : 22 December, 2025

प्रतिक्रिया दिनुहोस्