तराई-मधेशमा चिसो बढ्यो, बारा, पर्सा र रौतहटका विद्यालयको पठनपाठन बन्द
सहयात्रा टिभी
काठमाडौं । पुस ८, केही दिनयता तराई–मधेश क्षेत्रमा बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन कष्टकर बन्दै गएपछि बारा, पर्सा र रौतहट जिल्लाका विभिन्न स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । अत्यधिक चिसोले विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै यी जिल्लाका पालिकाहरूले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिएका हुन् ।

पर्साको वीरगंज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म (पुस ७ देखि ९ गतेसम्म) तीन दिनका लागि पठनपाठन स्थगित गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाका अनुसार यो बिदा वर्षे बिदाबाट कट्टा हुनेछ । लगत्तै पुस १० गते क्रिसमस, ११ गते शैक्षिक क्यालेन्डर अनुसारको बिदा र १२ गते शनिबार परेकाले वीरगंजका विद्यालयहरू अब पुस १३ गते आइतबारदेखि मात्र नियमित सञ्चालनमा आउनेछन् । पर्साकै पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले पनि पुस ८ र ९ गते दुई दिन बिदा दिएका छन् भने पोखरिया नगरपालिकाले समेत जाडो बिदाको घोषणा गरेको छ ।
यसैगरी बारा जिल्लाको परवानीपुर गाउँपालिकाले चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएपछि पुस ७ देखि ११ गते शुक्रबारसम्म पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बाराकै सिम्रौनगढ नगरपालिकाले पनि बढ्दो चिसोलाई ध्यानमा राख्दै पुस ७ र ८ गते दुई दिनका लागि नगरभित्रका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरेको छ ।
उता रौतहटको गौर नगरपालिकाले पनि बालबालिकाको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै पुस ८ गते मंगलबारदेखि शुक्रबारसम्म नगरभित्रका निजी तथा सामुदायिक विद्यालयमा बिदा दिएको छ । एक सातायता तराईमा लागेको बाक्लो हुस्सु र चलेको शीतलहरका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा र दैनिक ज्याला मजदुरीमा निर्भर सर्वसाधारणको दैनिकी निकै प्रभावित भएको छ ।


