कांग्रेसको क्रियाशील सदस्यता नवीकरण भोलि मध्याह्न र नयाँ वितरण पर्सी लक गरिने

सहयात्रा टिभी

काठमाडौं । पुस ८, नेपाली कांग्रेसले आसन्न १५औँ महाधिवेशनको तयारीस्वरूप क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको समयसीमा निर्धारण गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरणको काम पुस ९ गते मध्याह्न १२ बजेसम्म मात्र गर्ने निर्णय गरेको हो।

समितिका सदस्य एवं केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ का अनुसार नवीकरणका लागि पुस ९ गते मध्याह्न १२ बजे र नयाँ सदस्यता वितरणका लागि पुस १० गते ‘सिष्टम लक’ गरिनेछ। सिष्टम बन्द भएपछि ९ गते नै अपराह्न ४ बजे बैठक बसी नवीकरण भएका नामहरू प्रमाणित गरेर पार्टीलाई बुझाउने र १० गते नयाँ सदस्यताको नामावली बुझाउने तयारी समितिले गरेको छ। यसपटक कांग्रेसले सदस्यता वितरण प्रक्रियालाई खुकुलो बनाउँदै मातहतका समिति वा विदेशस्थित जनसम्पर्क समितिबाट सदस्यता नपाएकाहरूले सोझै केन्द्रीय कार्यालय वा वेबसाइटमार्फत सम्पर्क गर्न सक्ने व्यवस्था समेत मिलाएको छ।

कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ भने वडा अधिवेशन पुस १६ गतेका लागि तोकिएको छ। यद्यपि, सदस्यता वितरण र त्यसमाथि परेका उजुरीको छानबिन प्रक्रिया पूर्ण रूपमा नसकिएकाले तल्लो तहका अधिवेशन कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भए पनि पार्टी कुनै निष्कर्षमा पुग्न सकेको छैन।

महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्व पङ्क्तिमा विशेष वा नियमित महाधिवेशन भन्ने विषयमा मतभेद देखिएको छ। महामन्त्री गगन थापाले तोकिएको मितिमा महाधिवेशन नभए विशेष महाधिवेशन हुने बताउँदै आएका छन्। गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएकोले विधानतः पुस २९ गतेभित्र विशेष महाधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्था छ। तर, सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने विशेष महाधिवेशनको पक्षमा नरही नियमित महाधिवेशनकै कार्यतालिकामा जोड दिइरहेका छन्।

प्रकाशित : 23 December, 2025

प्रतिक्रिया दिनुहोस्