भारतले गर्‍यो अहिलेसम्मकै भारी अमेरिकी स्याटेलाइट ‘ब्लुबर्ड ब्लक–२’ को सफल प्रक्षेपण

सहयात्रा टिभी

काठमाडौं । पुस ९, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बुधबार बिहान आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट अमेरिकी स्याटेलाइट ‘ब्लुबर्ड ब्लक–२’ को सफल प्रक्षेपण गरेको छ । एलभीएम–३ रकेटमार्फत प्रक्षेपण गरिएको यो स्याटेलाइटको वजन ६ हजार १०० किलोग्राम रहेको छ, जुन भारतीय भूमिबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा भारी स्याटेलाइट हो ।

‘ब्लुबर्ड ब्लक–२’ एक नेक्स्ट–जेनेरेसन सञ्चार उपग्रह हो, जसले सामान्य स्मार्टफोनमै सोझै उच्च गतिको सेलुलर ब्रोडब्यान्ड कनेक्टिभिटी पुर्‍याउने उद्देश्य राखेको छ । यसबाट पृथ्वीको जुनसुकै कुनाबाट पनि फोरजी र फाइभजी भ्वाइस कल, भिडियो कल र डेटा सेवाहरू उपलब्ध हुनेछन् । यो मिसन इसरोको व्यावसायिक शाखा न्युस्पेस इन्डिया लिमिटेड (एनएसआईएल) र अमेरिकी कम्पनी एएसटी स्पेसमोबाइलबीचको सम्झौताको नतिजा हो ।

प्रक्षेपणको करिब १५ मिनेटपछि स्याटेलाइट रकेटबाट अलग भई पृथ्वीको तल्लो कक्ष (Low Earth Orbit) मा सफलतापूर्वक स्थापित भएको थियो । अन्तरिक्षमा अन्य सक्रिय स्याटेलाइटहरूसँगको सम्भावित ठक्कर टार्न निर्धारित समयभन्दा ९० सेकेन्ड ढिलो गरी रकेट उडाइएको थियो । ‘बाहुबली’ उपनामले चिनिने ६४० टन तौल भएको एलभीएम–३ रकेटको यो नवौँ सफल उडान हो । यसअघि यही रकेटले चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्‍याएको थियो ।

इसरोका अध्यक्ष वी. नारायणनले यो प्रक्षेपणलाई देशका लागि ठूलो उपलब्धि बताउँदै एलभीएम–३ रकेटको सतप्रतिशत विश्वसनीयता पुष्टि भएको बताएका छन् । त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस सफलतालाई भारतको अन्तरिक्ष यात्रामा एउटा महत्वपूर्ण कोसेढुङ्गा भन्दै यसले विश्वव्यापी व्यावसायिक प्रक्षेपण बजारमा भारतको भूमिकालाई थप बलियो बनाएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : 24 December, 2025

प्रतिक्रिया दिनुहोस्