वैकल्पिक शक्ति निर्माणमा रवि, बालेनसँगै सुनील शर्मा र सागर पनि सहभागी
सहयात्रा टिभी
काठमाडौं । पुस १०, वैकल्पिक शक्ति निर्माणको छलफलमा सहभागी हुन नेताहरू भेला हुन थालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन, कांग्रेस नेता सुनील शर्मा, जेनजी अभियानबाट चर्चामा रहेका सुदन गुरुङ, असिम शाह कुपेण्डोलस्थित कुमार बेनको घरमा भेला हुँदैछन् ।
वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल पनि भर्खरै पुगेका छन् । सुदन गुरुङ भने यसअघि नै पुगिसकेका छन् । रास्वपा सभापति लामिछानेसँग असिम शाह, गणेश कार्की पनि छन् ।
यसअघि सोमबार राति लामो समय छलफल गरेका रवि र बालेनले आजको छलफलमा अन्य नेतालाई पनि सहभागी गराउन लागेका हुन् ।
यसअघि सोमबार राति कमलपोखरीमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए ।
अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरू निकट नेताहरूले बताएका थिए ।
बालेन शाहले केही दिनयता राजनीतिक सक्रियता बढाएका छन् । रविलाई भेटेपछि बुधबारदेखि उनी विभिन्न राजनीतिक शक्ति र व्यक्तिसहित जेनजी अभियन्तासँग छलफल चलाइरहेका छन् ।
आजै पनि उनले ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका छन् ।


