ट्रम्पको आदेशमा नाइजेरियामा आईएसविरुद्ध ‘शक्तिशाली’ अमेरिकी हमला
सहयात्रा टिभी
काठमाडौं । पुस ११, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अमेरिकाले ‘शक्तिशाली र घातक हमला’ गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत आईएसलाई ‘आतंकी फोहोर’ को संज्ञा दिँदै उनीहरूले मुख्यतया निर्दोष इसाई धर्मावलम्बीहरूलाई निशाना बनाउने र हत्या गर्ने गरेको आरोप लगाएका छन् ।

ट्रम्पले अमेरिकी सेनाले निकै सटिक आक्रमण (परफेक्ट स्ट्राइक्स) गरेको दाबी गरेका छन् । यता, अमेरिकी अफ्रिका कमान्ड (अफ्रिकम) ले बिहीबार नाइजेरियाको सोकोतो राज्यमा त्यहाँको सरकारसँगको समन्वयमा आक्रमण गरिएको पुष्टि गरेको छ । नाइजेरियाका विदेशमन्त्री युसुफ माइतामा तुग्गरले बीबीसीसँग कुरा गर्दै यो आतंककारीहरूलाई लक्षित गरी गरिएको ‘संयुक्त अपरेसन’ भएको र यसको सम्बन्ध कुनै खास धर्मसँग नरहेको स्पष्ट पारेका छन् ।
अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले पनि नाइजेरिया सरकारको सहयोग र सहकार्यप्रति आभार व्यक्त गरेका छन् । गत नोभेम्बरमा ट्रम्पले अमेरिकी सेनालाई नाइजेरियामा रहेका इस्लामी उग्रवादी समूहविरुद्ध कारबाहीको तयारी गर्न आदेश दिएका थिए । उनले नाइजेरियामा इसाई जनसंख्यामाथि ‘अस्तित्वको खतरा’ रहेको भन्दै यसअघि नै नाइजेरियालाई ‘विशेष चासोको देश’ (कन्ट्री अफ पार्टिकुलर कन्सर्न) घोषणा गरेका थिए ।
यद्यपि, हिंसाको निगरानी गर्ने अन्तर्राष्ट्रिय समूहहरूले भने नाइजेरियामा इसाईहरूलाई मात्र निशाना बनाइएको भन्ने ट्रम्पको दाबीमा सत्यता नभएको बताएका छन् । तथ्यांकअनुसार जिहादी समूहहरूको आक्रमणमा मुस्लिम र इसाई दुवै धर्मावलम्बीहरू मारिने गरेका छन् । नाइजेरियाली अधिकारीहरूले पनि आतंककारीहरूले कुनै एक धर्मका मानिसलाई मात्र नभई सबैलाई निशाना बनाउने गरेको बताउँदै आएका छन् ।


