म्यानमारमा सैन्य शासनपछि पहिलो पटक चुनाव हुँदै, जनतामा त्रास र आशंका

सहयात्रा टिभी

काठमाडौं । पुस १२, म्यानमारमा सेनाले सत्ता कब्जा गरेको करिब पाँच वर्षपछि पहिलो पटक आइतबार आम निर्वाचन हुँदैछ। मान्डले सहरमा सेनाको समर्थन रहेको ‘युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टी’ (यूएसडीपी) ले चुनावी सभाहरू गरिरहेको भए पनि सर्वसाधारणमा उत्साह भन्दा त्रास बढी देखिएको छ।

अन्तर्राष्ट्रिय समुदाय र आलोचकहरूले यो चुनावलाई ‘कर्मकाण्डी’ र ‘ढोँग’ को संज्ञा दिएका छन्। देशको सबैभन्दा लोकप्रिय पार्टी ‘नेशनल लिग फर डेमोक्रेसी’ लाई खारेज गरिएको छ भने नेत्री आङ सान सुकीलाई जेलमा राखिएको छ। गृहयुद्धका कारण देशका धेरै भागमा मतदान सम्भव नभएकाले चुनाव तीन चरणमा एक महिना लगाएर गरिनेछ।

जुन्ता शासक मिन आङ ह्लाइङले यो चुनावमार्फत आफ्नो सत्तालाई वैधता दिने प्रयास गरिरहेका छन्। चीनले यस चुनावलाई प्राविधिक र आर्थिक सहयोग गरेको छ भने सेनाले रुसी र चिनियाँ हतियारको बलमा गुमेका भूभागहरू फिर्ता लिन खोजिरहेको छ।

मतदाता र सर्वसाधारणमा डरको वातावरण व्याप्त छ। चुनावको विरोध गर्ने वा आलोचना गर्नेलाई कडा कारबाही गर्ने कानुन बनाइएको छ। मान्डलेमा मानिसहरू विदेशी पत्रकारसँग बोल्न डराएका थिए भने कतिपयले बाध्यताले भोट हाल्नुपर्ने अवस्था रहेको बताएका छन्। एक स्थानीयका अनुसार उनीहरू भोट हाल्न त जानेछन्, तर त्यो मनदेखि नभई डरका कारण हुनेछ।

प्रकाशित : 27 December, 2025

प्रतिक्रिया दिनुहोस्