सप्तरीमा शीतलहरको कहर : राजविराजसहित आधा दर्जन पालिकामा विद्यालय बन्द
सहयात्रा टिभी
काठमाडौं । पुस १५ , तराईमा शीतलहरसँगै अत्यधिक चिसो बढेर जनजीवन प्रभावित हुन थालेपछि सप्तरी जिल्लाका विभिन्न स्थानीय तहहरूले विद्यालय बन्द गर्न थालेका छन् । चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै सदरमुकाम राजविराज नगरपालिकासहित पछिल्लो पटक थप तीन पालिकाले विद्यालयमा बिदा दिने निर्णय गरेका हुन् ।

राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा जारी सूचना अनुसार, पुस १६ गतेदेखि १८ गतेसम्म तीन दिनका लागि नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरू बन्द रहनेछन् । यस्तै, महादेवा गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाले पनि सोही अवधिका लागि (पुस १६ देखि १८ सम्म) विद्यालयमा बिदा दिएका छन् । महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल तथा अग्निसाइर कृष्णासवरण गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवले सूचना जारी गर्दै बढ्दो चिसोबाट बालबालिकालाई जोगाउन पालिका अन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालय बन्द गरिएको जनाएका छन् ।
यसअघि नै जिल्लाका अन्य पालिकाहरूले पनि जाडो बिदाको घोषणा गरिसकेका छन् । डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले पुस १८ गते शुक्रबारसम्मका लागि पाँच दिन बिदा दिएका छन् भने बोदेवरसाइन नगरपालिकाले पुस ९ देखि १३ गतेसम्म विद्यालय बन्द गराएको थियो ।
बिहान र बेलुका बाक्लो हुस्सु लाग्ने तथा दिउँसो चिसो हावा चल्ने गरेका कारण जिल्लाको जनजीवन निकै कष्टकर बनेको छ । यसको प्रत्यक्ष असर बालबालिका, वृद्धवृद्धा र पशुचौपायामा परेको छ । चिसो बढेसँगै जिल्लाका अस्पताल तथा स्वास्थ्य चौकीहरूमा बिरामीको चाप ह्वात्तै बढेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्रशासनका अनुसार अहिले रुघाखोकी, ज्वरो तथा दमजस्ता समस्या लिएर उपचार गराउन आउने बिरामीहरूको सङ्ख्या दैनिक रूपमा बढिरहेको छ ।


