बन्दसूचीमाथि छानबिन निर्वाचन आयोगले सुरु

सहयात्रा टिभी

काठमाडौं । पुस १६ , निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलहरूबाट उम्मेदवारको बन्दसूची पाएसँगै छानबिन सुरु गरिएको हो ।

‘कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहेरनरहेको हेर्ने हो । यसरी हेर्न सुरु गरिएको छ’ प्रवक्ता भट्टराईले जानकारी दिए ।

उनका अनुसार आयोगले आयोगले यही पुस २० गतेसम्म अध्ययन गर्नेछ ।

प्रवक्ता भट्टराई भन्छन्, ‘अध्ययनपश्चात २० गते नै हामी दलहरूलाई के–के मिलेको छैन भनेर पत्राचार गर्छौं । त्यसपछि उहाँहरूले मिलाएपछि थप प्रक्रिया अगाडि बढ्छ ।’

आयोगले क्लस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गर्नेछ । त्यस्तोमा दलहरूले यही पुस २७ गतेसम्म संशोधन गर्न पाउनेछन् ।

उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते समय पाउनेछन् । कसैले फिर्ता लिएमा आयोगले त्यसबारेको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिइनेछ ।

उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनीत उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्ने समय पुस ३० गतेका लागि तोकिएको छ ।

त्यसपछि प्राप्त उम्मेदवारको बन्दसूचीको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

 

प्रकाशित : 1 January, 2026

प्रतिक्रिया दिनुहोस्