जेन-जी आन्दोलनका अगुवा अर्जुन शाही ठगी र आपराधिक विश्वासघात अभियोगमा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । पुस १९, जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा फरार रहेका २६ वर्षीय अर्जुनबहादुर शाहीलाई पक्राउ गरेको छ। अछामको पञ्चदेव विनायक नगरपालिका–४ घर भई हाल काठमाडौंको रानीपोखरी बस्ने शाहीलाई मनसरी घलेको जाहेरीका आधारमा नियन्त्रणमा लिइएको हो। शाहीमाथि ठगी, आपराधिक विश्वासघात र बैंकिङ कसूर (चेक अनादर) लगायतका विभिन्न मुद्दाहरू दर्ता रहेको प्रहरी प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

पक्राउ परेका शाही यसअघि पनि विवादित छवि र आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए। गत असोज २९ गते उनलाई ‘जेन्जी’ भन्दै विभिन्न सरकारी कार्यालयमा पुगेर धम्की दिएको आरोपमा कोटेश्वरबाट पक्राउ गरिएको थियो। उनले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई समेत राजीनामा दिन धम्क्याएका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर पनि ज्ञापनपत्र बुझाउँदै अधिकारीहरूको राजीनामा मागेका थिए। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको शपथ ग्रहणका बेला सुधनसँगै ‘जेन्जी’को सहसंयोजक बनेर उनी शीतल निवास समेत छिरेका थिए।

राजनीतिक रूपमा समेत सक्रिय देखिएका शाहीले इलाम–२ को उपनिर्वाचनमा डोजर चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए, जहाँ उनले केवल ५५ मत प्राप्त गरेका थिए। हाल ‘जेन्जी रिभोलुसन नेपाल’को संयोजक र अन्तरिम सरकार गठन गर्ने वार्ता समितिको सहसंयोजकको रूपमा क्रियाशील उनले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै आएका छन्।

केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा उनले जेन्जी आन्दोलनको उपलब्धि हत्याउन सक्रिय केही ‘हाइज्याकर’हरूले आफूलाई फसाउन षड्यन्त्र गरेको दाबी गरेका थिए।

प्रकाशित : 3 January, 2026

प्रतिक्रिया दिनुहोस्